मोरङ कारागारका थुनुवाको मृत्यु

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २१, आइतबार १२:१९

विराटनगर । जिल्ला कारागार मोरङका १ जना थुनुवाको आज (आइतबार) बिहान मृत्यु भएको छ ।

ठगी मुद्दाका थुनुवा रामेछापको दोरम्बा–सैलुङ गाउँपालिका–२ घर भएका ५४ वर्षीय प्रवीण तामाङको मृत्यु भएको कारागारका जेलर गौरव ढुंगेलले जानकारी दिए । उनका अनुसार अचानक श्वासप्रश्वासमा समस्या भएपछि तामाङलाई उपचारका लागि शनिबार साँझ विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको थियो ।

तामाङको उपचारकै क्रममा आइतबार बिहान ४ बजेतिर मृत्यु भएको जानकारी ढुंगेलले दिए । उनी अदालतको आदेशबाट २०८१ पुस १६ गते पुर्पक्षका लागि मोरङ कारागार चलान भएका थिए ।

उनीविरुद्ध दर्ता भएको ठगी मुद्दा विचाराधीन छ । मुद्दा किनारा नलागिकन तामाङको मृत्यु भएको हो । ‘अस्पताल भर्ना गर्दा अवस्था सामान्य थियो,’ जेलर ढुंगेलले भने, ‘अचानक मृत्यु भएको खबर आयो ।’

शवलाई कोशी अस्पतालमै राखिएको छ । घटनाका बारेमा तामाङको परिवारलाई खबर भइसकेको र परिवारका सदस्य एवं आफन्त आइपुगेपछि थप प्रक्रिया अघि बढाउने ढुंगेलले बताए ।

पछिल्लो समय मोरङ कारागारमा रहेका कैदीबन्दी एवं थुनुवाको मृत्यु हुने क्रम बढेको छ । पछिल्लो १ सातामा मात्रै २ जनाको मृत्यु भइसकेको छ ।

मोरङको उर्लाबारी नगरपालिका–१ घर भएका कैदी ४३ वर्षीय मित्रकुमार दनुवारको वैशाख १५ गते मृत्यु भएको थियो । दनुवार जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएर अदालतबाट २५ वर्ष कैद सजाय सुनाइएका कैदी हुन् ।

लगातार बन्ता गर्न थालेपछि उनलाई उपचारका लागि चैत १३ गते कोशी अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा चैत १५ गते मृत्यु भएको जेलर ढुंगेलले बताए । दनुवार २०७८ साल असार ७ गते कारागार चलान भएका थिए ।

कारागारमा रहेका कैदीबन्दीको मृत्यु हुने क्रम बढेको ढुंगेलले बताए । राज्यको नियन्त्रणमा रहेका कैदीबन्दी एवं थुनुवाको मृत्यु भइरहँदा कारागारभित्रको सुरक्षालाई लिएर चिन्ता थपिएको छ ।

मोरङ कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिएको छ । महिला र पुरुष गरेर ३ सय जना क्षमताको कारागारमा आइतबार बिहानसम्ममा १ हजार ३८ जना कैदीबन्दी रहेका छन् । जसमध्ये नाबालक ३, महिला १ सय ७ र पुरुष ९ सय २८ रहेका हुन् ।

क्षमताभन्दा बढी कैदीबन्दी राख्नु परेका कारण कारागारको अवस्था भद्रगोल बनेको छ । कैदीबन्दीलाई खाने, बस्ने र सुत्ने ठाउँको समेत अभाव भइरहेको कारागार प्रशासनले जनाएको छ ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.