
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज (आइतबार) छलफल भएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा ओली प्रधानमन्त्रीको कुर्सीमा बसेका छैनन् । सार्वजनिक भएको तस्बिरमा ओली प्रचण्डको छेउमा कुर्सी राखेर बसेको देखिन्छ । प्रचण्ड एमाले नेता अग्नी खरेलसँग एउटा सोफामा छन् ।
प्रचण्ड बसेको विपरीत दिशमा माओवादी उपमहासचिव वर्षमान पुन बसेका छन् । प्रधानमन्त्रीको सचिवालयका दुई नेताबीचको भेटमा संक्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल भएको छ ।
यसअघि प्रधानमन्त्री ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहित प्रचण्डसँग छलफल गर्न खोजेका थिए । तर, प्रचण्ड नगएपछि ओली र देउवाले मात्रै छलफल गरेका थिए । देउवासँगको सल्लाह अनुसार आज उनले प्रचण्डलाई भेटेको बताइएको छ ।
























