
विराटनगर । मोरङको धनपालथान गाउँपालिकास्थित कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थामा भएको रकम अपचलनसँग सम्बन्धित मुद्दाको सक्कल मिसिल झिकाउने आदेश भएको छ ।
उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधीश ध्रुवराज नन्दको इजलासले सक्कल मिसिल झिकाउने आदेश दिएको हो । उच्च अदालत विराटनगरका रजिष्ट्रार जगदीशप्रसाद भट्टका अनुसार मोरङको धनपालथान–४ कर्सियास्थित उमागौरी सहकारीको बचत अपचलन मुद्दामा जिल्ला अदालत मोरङको आदेशविरुद्ध परेको निवेदनमाथि सुनुवाइ गर्दै उच्चले सक्कल मिसिल झिकाउन भनेको छ ।
सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियारसहित २६ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालय मोरङले २०८१ मंसिर २७ गते जिल्ला अदालतमा दर्ता गरेको थियो । मुद्दामा रौनियारसहित संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला, रंगेली नगरपालिका–२ का वडाध्यक्ष सन्तलाल खवास, धनपालथान गाउँपालिका–४ का पूर्ववडाध्यक्ष रोशन चौधरीलगायतलाई प्रतिवादी बनाइएको थियो ।
सहकारीको हिनामिना भएको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो मागदाबीसहित दर्ता भएको मुद्दाको अनुसन्धानका क्रममा पूर्ववडाध्यक्ष चौधरी मात्रै पक्राउ परेका थिए । अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि सहकारीका अध्यक्ष रौनियार र पूर्ववडाध्यक्ष चौधरीलाई कारागार चलान गरिएको थियो ।
गत पुस २४ गते अदालतमा उपस्थित भएकी कोइराला जिल्ला अदालतले धरौटीबापत माग गरेको १० लाख रूपैयाँ बुझाएर छुटेकी थिइन् । वडाध्यक्ष खवास ५ लाख धरौटी बुझाएर छुटेका थिए । मुद्दामा कोइरालासहित ६ जना जिल्ला अदालत मोरङको आदेशबाट धरौटीमा छुटेका छन् ।
जिल्लाको आदेशविरुद्ध सरकारी वकिल उच्च अदालत पुगेको थियो । उच्चका २ न्यायाधीशबीच राय बाझिएपछि अर्को बेञ्च तोकियो । जिल्लाको आदेशविरुद्ध परेको निवेदनको सुनुवाइ गर्ने क्रममा वैशाख ११ गते उच्च अदालत विराटनगरका न्यायाधीश श्रीधराकुमारी पुडासैनी र केशवप्रसाद बाँस्तोलाको राय बाझिएको थियो ।
न्यायाधीश श्रीधराकुमारी पुडासैनीले जिल्लाको आदेशलाई सदर गर्ने राय दिएकी थिइन् । तर, न्यायाधीश केशवप्रसाद बाँस्तोलाले भने पुडासैनीको रायमा असहमति जनाउँदै धरौटी बढाएर १ करोड बनाउनुपर्ने राय दिएका थिए । त्यसपछि पुर्पक्षको आदेशका लागि अर्को बेञ्च तोकियो। यो मुद्दाको अर्को सुनुवाइ आगामी बिहीबार हुनेछ ।

























