रवि लामिछानेमाथिको अनुसन्धान नै शंकाको घेरामा, सुप्रिम सहकारी प्रकरण नयाँ मोडमा

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २, शुक्रबार ०९:२९

विराटनगर । सहकारीको रकम अपचलन गरेको आरोपमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि प्रहरीले गरेको अनुसन्धान नै शंकाको घेरामा परेको छ ।

पछिल्लो समय विकसित घटनाक्रमले लामिछानेलाई फसाउने योजना अनुरुप प्रहरीले अनुसन्धान गरेको आशंकामा बल पुगेको छ । लामिछानेमाथिको अनुसन्धान शंकाको घेरामा परेपछि बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणले नयाँ मोड लिएको छ ।

लामिछानेविरुद्ध परेको भनिएको पूरक जाहेरीप्रति उजुरीकर्ताहरुले असहमति जनाउन थालेका छन् । उजुरीकर्ताहरुले एकपछि अर्को गर्दै सार्वजनिक रूपमा असहमति जनाएका हुन् । सहकारी पीडित भनिएका ३ जनाले सामाजिक सञ्जालमार्फत आफूहरुले लामिछानेविरुद्ध जाहेरी नदिएको बताएका छन् ।

उजुरीकर्ताहरू नारायणबहादुर पहराई, गीता आचार्य र पूजा न्यौपानेले सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै आफूहरुले लामिछानेविरुद्ध जाहेरी नदिएको स्पष्ट पारेका हुन् । पछिल्लो १ साताको अवधिमा ३ जना पीडितले सार्वजनिक रूपमै आफूहरूलाई लामिछानेविरुद्ध जाहेरी दिएको जसरी प्रचार गरिएको भए पनि त्यो सत्य नभएको बताएका छन् ।

आफूहरूले बचत फिर्ताका लागि दिएको निवेदनलाई लामिछानेविरुद्ध प्रयोग गरिएको हुनसक्ने उनीहरुको आशंका छ । ‘सहकारीको बचत फिर्ताका लागि निवेदन दिएका हौं । कुनै व्यक्तिविरुद्ध कारबाही माग गर्दै उजुरी दिएका छैनौं,’ उनीहरुले भनेका छन् ।

रुपन्देही तिलोत्तमाकी पूजा न्यौपानेले फेसबुकमा आफूले बचत गरेको रकम नपाएपछि मात्रै उजुरी दिएकी स्पष्ट पारेकी छन् । रकम फिर्ताको माग गर्दै निवेदन दिए पनि लामिछानेविरुद्ध जाहेरी नदिएको उनको भनाइ छ ।

अर्का पीडित भनिएका नारायणबहादुर पहराईले पनि आफूले दिएको निवेदनलाई लामिछानेविरुद्धको जाहेरीका रूपमा प्रहरी प्रशासनले प्रयोग गरेको हुनसक्ने बताए । लामिछानेविरुद्ध मुख्य उजुरीकर्ता बनाइएकोमा उनको असहमति छ ।

‘बचत फिर्ताको लागि उजुरी दिएको हुँ । कुनै व्यक्तिविरुद्ध किटानी उजुरी दिएको थिइनँ । मलाई जानकारी नदिइ रविविरुद्ध मुद्दा चलाइएको छ । जुन प्रचारमा सत्यता छैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । त्यस्तै, पीडित भनिएकी गीता आचार्यले पनि आफ्नो निवेदनलाई प्रहरी प्रशासनले अनुमति नलिइकन रविविरुद्ध प्रयोग गरेको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि जनाएकी छन् ।

उजुरीकर्ता भनिएकाहरुले सार्वजनिक रूपमा बोल्न थालेपछि पूरक जाहेरीमार्फत लामिछानेलाई प्रतिवादी बनाइएको भनेर प्रहरीले अघि बढाएको अनुसन्धानको प्रक्रियामाथि प्रश्न उठ्न थालेको छ । सुप्रिम सहकारीको बचत अपचलनमा प्रहरीले अनुसन्धान थाल्दा सुरुमा लामिछानेविरुद्ध कुनै जाहेरी परेको थिएन ।

पछि पूरक जाहेरी परेको भनेर प्रहरीले उनलाई प्रतिवादी बनाएको थियो । रास्वपा लुम्बिनी प्रदेश उपाध्यक्ष शालिकराम घिमिरेले सहकारी ठगीको वास्तविक पीडितले रकम फिर्ता पाउने उपाय खोज्नुको साटो सरकारले राजनीतिक प्रतिशोधको रूपमा लामिछानेलाई फसाएको बताए ।

पीडित भनिएकाले नै जाहेरी नदिएको सार्वजनिक रूपमा बताइरहँदा सरकारले भने प्रतिशोधपूर्ण हिसाबले कारबाहीको चक्र चलाएको उनको भनाइ छ । लामिछाने जिल्ला अदालत रुपन्देहीको आदेशबाट धरौटीबापत १ करोड रूपैयाँ बुझाएर छुटेका थिए ।

पछि उच्च अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान भए । उनीजस्तै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी पनि थुनामा छन् । तर, मुख्य अभियुक्त भनिएका सहकारीका सञ्चालक जीबी (गितेन्द्रबाबु) राईसहित अन्य अभियुक्तहरू अझैसम्म फरार छन् । उनीहरूलाई खोज्न खासै सक्रियता नदेखाएको भन्दै रास्वपाका नेता कार्यकर्ताहरूले लामो समयदेखि प्रहरीमाथि राजनीतिक पूर्वाग्रहको आरोप लगाउँदै आएका छन् ।

लामिछानेविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर हुँदा इलाका प्रहरी कार्यालय बुटवलमा डीएसपी विजयराज पण्डित प्रमुख थिए । हाल उनको सरुवा भइसकेको छ । पण्डितका ठाउँमा डीएसपी इन्द्रबहादुर राना पुगेका छन् ।

प्रहरी अधिकारीहरु भने अदालतमा विचाराधीन मुद्दाबारे कुनै प्रतिक्रिया दिन नमिल्ने भन्दै पन्छिने गरेका छन् । लामिछानेविरुद्ध जाहेरी दिएको भनिएका व्यक्तिहरू आफैंले उजुरी नदिएको भनी सार्वजनिक रूपमा स्पष्ट पार्न थालेपछि अब यो प्रकरणले नयाँ मोड लिएको छ ।

राजनीतिक हस्तक्षेपको आरोप लागिरहेका बेला पछिल्लो समय सुप्रिम सहकारी प्रकरणले प्रहरी प्रशासनको कार्यशैलीमाथि प्रश्न उठेको छ । सहकारीको रकम अपचलनमा वास्तविक दोषी को हो भन्ने विषयमा थप बहस चर्किने संकेत देखिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी रमेश थापाले लामिछानेविरुद्ध जाहेरी परेको बताए । ‘जाहेरी परेकै हो । जाहेरी नपरिकन प्रहरीले कारबाही अघि बढाउन सक्दैन । प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको मिसिलमै त्यो कुरा छ,’ मुलुकी खबरसँग थापाले भने ।

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.