सुनसरीमा भारतीय गाडीबाट ठूलो परिमाणमा गाँजा बरामद

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १५, बिहीबार १५:३३

विराटनगर । सुनसरीमा भारतीय नम्बर प्लेटको गाडीबाट बिहीबार बिहानका राति ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद भएको छ ।

दुहबी नगरपालिका–११ तनमुनास्थित नहरचौक–शुक्रबारे भित्री सडक खण्ड भएर लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय दुहबीका इन्स्पेक्टर सागर तिमल्सिना नेतृत्वको टोलीले गाँजा बरामद गरेको हो । प्रहरी चौकी तनमुना र प्रहरी चौकी रामगन्ज बेलगछिया (शुक्रबार)को सहयोगमा बिहान ३ बजेतिर गाँजा बरामद भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए ।

उनका अनुसार प्रहरीलाई देख्नसाथ उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको डब्लुबी ०६ एच २८५८ नम्बरको भारतीय स्कोरपिओ गाडी छाडेर चालक फरार भएका थिए । प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा गाडीभित्र १४ वटा पोका भेटिएको थियो ।

उक्त प्लाष्टिकको पोकाभित्र ‘प्याक’ गरेर गाडीमा लोड गरिएको अवस्थामा गाँजा फेला परेको डीएसपी खतिवडाले बताए । उनका अनुसार गाडीबाट ४ सय ३८ किलोग्राम गाँजा बरामद भएको हो ।

गाँजासहितको गाडीलाई इलाका प्रहरी कार्यालय दुहबीमा राखिएको छ । फरार रहेका चालकको खोजी तीव्र पारेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय भारततिर अत्यधिक गाँजा ओसारपसार हुने गरेको पाइएपछि नियन्त्रणमा लिन सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले विशेष टोली परिचालन गरेका छ । प्रहरी सक्रियतासँगै सुनसरीबाट दैनिकजसो गाँजा बरामद भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.