प्राकृतिक विपतलाई हेलचेक्र्याइँ नठान

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १९, सोमबार १४:२४

यो वर्ष औसतभन्दा दुई साताअघि नै नेपालमा मनसुन भित्रिएको छ । कोशी प्रदेशबाट भित्रिएलगत्तै पूर्वका जिल्लामा बाढीपहिरोले निकै क्षति पुर्याएको छ । सुरुआती दिनमै यो वर्ष कस्तो अवस्था होला भन्ने संकेत मिलिसकेको छ ।

जल तथा मौसम विज्ञान विभागले यो वर्ष सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण पनि गरेको छ । यस्तो अवस्थामा पूर्वसावधानी अत्यावश्यक हो । यसो भए पनि विगतको अनुभवलाई हेर्दा सरकार र उसका निकायहरुले बेलैमा सावधानी अपनाउने गरेको पाइँदैन ।

गत वर्षको भीषण बाढीपहिरोले क्षत विक्षत भएको वीपी राजमार्ग बेलैमा नबनाउँदा यसपालि त्योभन्दा बढी क्षतिग्रस्त हुने अवस्था छ । भीरबाट ढुंगा झर्ला कि पहिरोले सडकै खस्ला भन्ने त्राहीमामका बीच यात्रा गर्नुपर्ने जोखिम छ ।

मनसुनको सुरुवाती दिनमै धनकुटा, झापा, संखुवासभा, इलाम, मोरङ, उदयपुर, सुनसरीलगायत जिल्लामा निकै क्षति भइसकेको छ । कतै सडक नै खोलाले बगाएको छ । कतै डाइभर्सनको नाम निशान छैन । नदी–खोलाको बाढी पसेर गाउँ बस्ती डुबानमा परेका छन् । सयौं विस्थापित भएका छन् ।

हरेक वर्ष वर्षा सुरु भएपछि यी खालका घटना हुन्छन् नै । पूर्ण रुपले रोक्न सकिंदैन । तर सावधानी अपनाउन सकिन्छ । कमभन्दा कम क्षति होस् भनेर सरकारले आफ्नो संयन्त्र परिचालन गरी इमान्दार प्रयास भने गर्नुपर्छ । अहिलेसम्म यही कुरा विश्वसनीय रुपमा देख्न सकिएको छैन ।

मनसुन पूर्ण रुपमा सक्रिय हुने भएकाले खासगरी असारको दोस्रो हप्तादेखि भदौ पहिलो हप्तासम्म नेपालमा ठूला बाढी, पहिरो तथा डुबानका घटना दोहोरिने गर्छन्  । तर जलवायु परिवर्तनको प्रभावले यो अवस्था अघि सर्ने वा पछिसम्म हुने पनि देखिन थालेको छ ।

यो अवधिमा जनधनमा व्यापक क्षति पुग्ने गरेको छ  । जोखिम छ भनेर जल तथा मौसमविज्ञान विभागले पहिले नै सम्भावित अवस्था तोकेरै सतर्कता अपनाउन भनिरहेको हुन्छ । सरकारलाई त्यसै अनुसारको जानकारी पनि दिइरहेको हुन्छ । तैपनि अपेक्षित रुपमा पूर्वतयारी भने देखिएको छैन । यसको पछिल्लो उदाहरण नै वीपी राजमार्ग बनेको छ ।

पूर्वतयारीको त के कुरा, सरकारका जिम्मेवार केही मन्त्रीले गत वर्षको घटनापछि दिएको अभिव्यक्ति नै उनीहरु कति गैरजिम्मेवार छन् भन्ने पुष्टि गर्न पर्याप्त छ । ‘कुन समयमा कुन ठाउँमा पहिरो खस्छ भन्ने सरकारलाई थाहा हुँदैन’ यसो भनेका थिए मन्त्रीले । कति गैरजिम्मेवार अभिव्यक्ति । यसको चौतर्फी विरोध र आलोचना पनि भएको थियो । तर सुझाव वा सुधारका लागि झक्झक्याएको ठान्नु त कता हो कता उल्टै गाली बर्साउने बानी उनीहरुको छ ।

मनसुनका बेला पहाडमा पहिरो जाने र चुरेक्षेत्र एवं तराईका सबैजसो नदीको प्रवाहले सतर्कता तह पार गर्ने भएकाले पूर्वतयारी र होसियारी अपनाउन ढिलो गर्नुहुँदैन ।

वर्षा लाग्नु अघि नै जोखिमपूर्ण क्षेत्रमा बसोबास गरिरहेकाहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काममा पनि ध्यान दिनुपर्छ । बर्सेनि हुने डुबान र कटानको समस्या समाधानमा सरकारले भूक्षय र नदी नियन्त्रणजस्ता काम बेलैमा गर्नुपर्छ ।

क्षतिग्रस्त सडकहरुको बेलैमा मर्मत र पुनःनिर्माण गर्नुपर्छ । वर्षा सकिएपछि दसैँ, तिहार जस्ता मुख्य पर्व आउँछन् । त्यस बेला देशभर नागरिकहरुको आवागमन बाक्लै हुन्छ । त्यसअघि नै यस्ता काम गर्न सरकार चुुक्नु हुँदैन ।

त्यसैले साँच्चै नै गम्भीर भएर विपद् नियन्त्रण, उद्धार र राहत जस्ता कार्यका लागि पूर्वतयारी गर्नुपर्छ । कमभन्दा कम क्षति हुने अवस्थाका लागि पहल गर्नै पर्छ । प्राकृतिक विपतलाई हेलचेक्र्याइँ नठान । बेलैमा सतर्कता नअपनाउँदा बाँकी रहने काम भनेको पछि पछुताउनु मात्रै हो भन्ने मनन गर्नुपर्छ ।

तपाइको प्रतिक्रिया
आर्थिक विधेयकका कर छुट र पुराना बक्यौता फर्छ्योटबारे उद्योगीलाई अभिमुखीकरण
मलेसिया प्रकरणमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
सुनवर्षीका दुई अशक्त व्यक्तिलाई रोटरी क्लबद्वारा ह्विलचियर प्रदान
झापामा मोटरसाइकल र धान काट्ने मेसिन ठोक्किँदा दुई जनाको मृत्यु
झापामा मोटरसाइकल र धान काट्ने मेसिन ठोक्किँदा दुई जनाको मृत्यु
विदेशी मुद्राको विनिमय दर सार्वजनिक
विदेशी मुद्राको विनिमय दर सार्वजनिक
पश्चिमी वायु र ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव, कोशीसहितका प्रदेशमा बदली 
कमिल मिशाराको शतकमा चितवन दोस्रो क्वालिफायरमा
अपांगता समावेशी विकासमा सरकारी प्रयास पर्याप्त भएनन्, कार्यान्वयनमै चुनौती
बेलबारीमा बाँसघारीभित्र जुवाखाल, प्रहरीले हान्यो छापा
निर्माण व्यवसायी महासंघ कोशीको अध्यक्षमा केशरकुमार बुढाथोकीको उम्मेदवारी, यस्तो छ प्यानल
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.