
विराटनगर । आर्थिक विधेयक २०८३ ले उद्योग तथा व्यवसाय क्षेत्रका लागि ल्याएका कर छुट र पुराना बक्यौता फर्छ्योटसम्बन्धी व्यवस्थाबारे मोरङका उद्योगी–व्यवसायीलाई अभिमुखीकरण गरिएको छ।
मोरङ उद्योग व्यापार संघको आयोजनामा आन्तरिक राजस्व कार्यालय विराटनगर र नेपाल चार्टर एकाउन्टेन्ट्स संघ, मोरङको सहजीकरणमा राष्ट्रिय कर दिवस २०८३ को अवसर पारेर कार्यक्रम आयोजना गरिएको हो।
संघका अध्यक्ष अनिलकुमार साहले आर्थिक विधेयकमा समेटिएका कर छुट तथा बक्यौता फर्छ्योटका सुविधाबारे पर्याप्त जानकारी नहुँदा उद्योगी–व्यवसायी लाभ लिनबाट वञ्चित हुन सक्ने भएकाले कार्यक्रम आयोजना गरिएको बताए। उनले उपलब्ध सुविधाको अधिकतम उपयोग गरी व्यवसाय सञ्चालन गर्न र करको दायरामा आउन उद्योगी–व्यवसायीलाई आग्रह गरे।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत केशवप्रसाद उप्रेती र नेपाल चार्टर एकाउन्टेन्ट्स संघ, मोरङका अध्यक्ष सीए अश्विनी बंशलले सहजीकरण गरेका थिए। संघका उद्योग उपाध्यक्ष सञ्जयकुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा प्रमुख कर अधिकृत उप्रेती र सीए युवराज उप्रेतीले अभिमुखीकरण दिएका थिए।
कार्यक्रममा आर्थिक ऐन २०८३ का दफा २५, २६, २८, ३० देखि ३३ तथा ३७ देखि ४९ सम्मका व्यवस्थाअन्तर्गत प्रदान गरिएका कर छुट, पुराना बक्यौता फर्छ्योट, व्यक्तिगत आयकर, पुँजीगत लाभकर तथा सम्पत्ति शुद्धीकरणलगायतका विषयमा जानकारी दिइएको थियो। साथै नेपालमा व्यावसायिक तथा वित्तीय कारोबारको लेखाजोखा र वित्तीय विवरण तयार गर्न लागू गरिएको राष्ट्रिय लेखामान प्रणाली, नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) र आयकरसम्बन्धी विषयमा समेत छलफल गरिएको थियो।
अभिमुखीकरणपछि आयोजित प्रश्नोत्तर तथा छलफलमा उद्योगी–व्यवसायीले उठाएका जिज्ञासाको प्रमुख कर अधिकृत उप्रेती र सीए बंशलले जवाफ दिएका थिए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेश कार्यसमिति सदस्य देवकीनन्दन अग्रवालले उद्योगी–व्यवसायीलाई करको दायरामा ल्याउन सरकारले ल्याएका प्रोत्साहनमूलक व्यवस्थाहरू सकारात्मक रहेको बताए।
नेपाल चार्टर एकाउन्टेन्ट्स संघ, मोरङका अध्यक्ष बंशलले सरकारले करदातालाई उपलब्ध गराएका सुविधामध्ये यसपटकको व्यवस्था अत्यन्तै प्रशंसनीय रहेको उल्लेख गर्दै यसको लाभ लिन सबै उद्योगी–व्यवसायीलाई आग्रह गरे।
कार्यक्रमको अन्त्यमा प्रमुख कर अधिकृत उप्रेतीले सचेत र जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै नियमित कर भुक्तानी गर्न तथा करदाताका रूपमा देशको सामाजिक सुरक्षा प्रणालीबाट लाभान्वित हुन उद्योगी–व्यवसायीलाई आग्रह गरे। संघका वरिष्ठ उपाध्यक्ष अनिल सारडाले आयोजकका तर्फबाट सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै अभिमुखीकरणबाट स्पष्ट भएका सुविधाको समयमै लाभ लिन आग्रह गरे।
कार्यक्रममा निजी क्षेत्रका विभिन्न संघ–संस्थाका पदाधिकारी, आन्तरिक राजस्व कार्यालयका कर अधिकृत, चार्टर एकाउन्टेन्ट, उद्योगी–व्यवसायीको सहभागिता रहेको थियो।

























