विराटनगरमा असईमाथि घुस लिएको आरोप, डीएसपी नेतृत्वको टोलीले छानबिन गर्दै

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २१, बुधबार १७:५६

विराटनगर । विराटनगरमा कार्यरत नेपाल प्रहरीका १ जना जुनियर अधिकृतमाथि घुस लिएको आरोप लागेको छ ।

घुस लिएको आरोप लागेपछि सीआरभी केसलियाका इन्चार्ज, असई (प्रहरी सहायक निरीक्षक) रामअवतार यादवलाई जिम्मेवारीबाट हटाइएको छ । वडा प्रहरी कार्यालय विराटनगरमा कार्यरत असई रामअवतारले केही दिनअघि मात्रै सीआरभीमा इन्चार्जको जिम्मेवारी पाएका थिए । त्यसअघि असई रूपेश सिंह त्यहाँको इन्चार्ज थिए ।

रामअवतारमाथि सुनसरीको देवानगन्ज गाउँपालिका–७ का इन्द्रदेव यादवसँग १३ हजार रूपैयाँ घुस लिएको आरोप लागेको हो । ‘विराटनगर महानगरपालिका–१८ भेडियारीमा रहेका आफन्तलाई सापटी दिएको १ लाख ७५ हजार रूपैयाँ पैसा लिएर इन्द्रदेव आफ्नो घर फर्किदै थिए । त्यही बेला नियन्त्रणमा लिएर विभिन्न धम्की दिँदै असई रामअवतारले १३ हजार रूपैयाँ लिएका हुन्,’ स्रोतले भन्यो ।

स्रोतका अनुसार असई रामअवतारले शनिबार राति ८ः३० बजेतिर सीआरभीकै गाडीमा राखेर इन्द्रदेवलाई नहरतिर लगेका थिए । करिब २ घण्टासम्म आफ्नो नियन्त्रणमा राखेर पैसाको ‘बार्गेनिङ’ गरेको आरोप उनीमाथि लागेको छ ।

गाडीमा २ घण्टासम्म राखेर विभिन्न धम्की दिँदै आफूसँग असईले पैसा लिएको गुनासो इन्द्रदेवले गर्ने गरेका छन् । रामअवतारले ‘यति धेरै पैसा बोकेर हिँड्न नपाइने र पक्राउ गरेर मुद्दा चलाइयो भने जेल जानुपर्ने’ भन्दै ‘ब्ल्याकमेलिङ’ गरेको गुनासो इन्द्रदेवले गर्ने गरेका हुन् ।

जेल नै जानुपर्ने भनिएपछि डरले पैसा बुझाउन बाध्य भएको गुनासो उनको छ । १३ हजार रूपैयाँ बुझाएपछि भने प्रहरीले छाडिदिएको र आफू घरतिर लागेको इन्द्रदेवको भनाइ छ । स्रोतका अनुसार इन्द्रदेवलाई असई रामअवतारले सीआरभीको गाडीमा राखेर लगेको सीसी क्यामेरा फुटेजमा पनि देख्न सकिन्छ ।

घटना बाहिर आएपछि असई रामअवतारलाई गत सोमबार सीआरभीबाट हटाएर जिल्ला प्रहरी कार्यालय तानिएको छ । उनको ठाउँमा असई शिव प्रधानलाई सीआरभीको इन्चार्जका रूपमा खटाइएको छ । तर, रामअवतारले घुसबापत लिएको भनिएको पैसा भने बरामद नभएको प्रहरी अधिकारीहरु बताउँछन् ।

घटना बाहिर आएपछि जिल्ला प्रहरी कार्यालय मोरङले डीएसपी (प्रहरी नायव उपरीक्षक) कोपिला चुँडालको नेतृत्वमा समिति बनाएर छानबिन सुरु गरेको छ । ‘घुस लिएको वा नलिएको यकिन भइसकेको छैन । डीएसपी नेतृत्वको समितिले छानबिन गर्दैछ,’ मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले भने ।

असईमाथि लागेको आरोप पुष्टि भइनसकेको र छानबिनबाट जे देखिन्छ त्यही अनुसार कारबाही हुने उनको भनाइ छ । व्यावसायिक तवरबाट काम नगरेको गुनासो आएसँगै असई रामअवतारलाई जिम्मेवारीबाट हटाएर छानबिनको दायरामा ल्याइएको जानकारी एसपी चिमरियाले दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.