धरानमा मेयर–उपमेयरबीच बोलचाल बन्द हुँदा अन्योलमा बजेट

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १२, बिहीबार १२:३७

विराटनगर । धरान उपमहानगरपालिका प्रमुख र उपप्रमुखबीच विवाद हुँदा पालिकाको बजेट अन्योलमा परेको छ । मेयर र उपमेयरबीच सम्वाद टुटेका कारण बजेट अनिश्चित बनेको हो ।

श्रमदानका विषयमा असार ३ गते धरानमा मेयर र उपमेयर पक्षबीच झडपको अवस्था सृजना भएको थियो । जसको असरले गर्दा असार १० गते पालिकाको बजेट आएन । असार १० गतेभित्र बजेट ल्याउने सीमा थियो ।

तर, असार ३ को विवादपछि मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रव्रिकम बेघाबीच बोलचाल छैन । प्रमुख र उपप्रमुखबीचको विवादले बजेट रोकिएको हो । बजेट पास नभए साउन १ गतेदेखि धरानमा ‘बजेट होलिडे’को अवस्था सृजना हुनेछ ।

धरानको बजेट विवाद यो पहिलो भने होइन । चालु आर्थिक वर्षको बजेट ल्याउने क्रममा पनि प्रमुख र उपप्रमुखबीच विवाद भएको थियो । जसले गर्दा चालु आर्थिक वर्षको बजेट साउन ६ गते मात्रै आएको थियो ।

स्थानीय तहले १० असार भित्र बजेट प्रस्तुत गरेर असार मसान्तसम्म पास गर्नुपर्छ । धरान उपमहानगरपालिका उपप्रमुख बेघाले प्रमुख साम्पाङले छलफलका लागि समन्वयन नै नगरेको बताए । बजेट निर्माणका लागि आफू तयार रहेको बताउँदै उनले मेयर साम्पाङले बैठक नबोलाएको आरोप लगाए ।

‘बजेटको तयारी केही अघि बढेको छैन । मेयरसावले केही छलफल नै गर्नुभएको छैन । अस्तीको घटनापछि छलफल र मिटिङ भएको छैन,’ उनले भने, ‘बजेट नआउँदा साउन १ गतेबाट गाह्रो हुन्छ थाहा छ, तर, त्यो कुरा प्रमुखजीलाई पनि थाहा हुनुपर्छ । कार्यालयको तर्फबाट प्रक्रिया अघि बढाउनका लागि भनेका छौं ।’

पछिल्लो समय साम्पाङ र बेघाबीच बोलचालसमेत छैन । मेयरले बोलाएर आफू जाने बेघा बताउँछन् । धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाई असार मसान्तसम्म बजेट ल्याउने प्रयास भइरहेको बताउँछन् ।

मेयर र उपमेयरबीचको विवाद समाधानका लागि प्रयास भइरहेको बताउँदै उनले भने, ‘बजेट छलफल अघि बढाउने प्रयासमा छौं ।’ धरानका प्रमुख हर्क साम्पाङसँग भने सम्पर्क हुन सकेन् ।

धरानमा राजस्व परामर्श समितिले बजेटका लागि १ अर्ब ६० करोडको बजेट सीमा दिएको थियो । अब सीमा निर्धारण समितिको बैठक बसेपछि बजेट तर्जुमा समितिले बजेट निर्माणको प्रक्रिया अघि बढाउँछ । त्यसपछि कार्यपालिका बैठकले पास गरेर बजेट नगरसभामा प्रस्तुत गर्नुपर्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.