
विराटनगर । न्यूनतम पारिश्रमिक वृद्धि र श्रम कानुन कार्यान्वयन गर्न माग गर्दै विराटनगरमा श्रमिकहरुले बिहीबार दबाबमूलक र्याली निकालेका छन् ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र कोशी प्रदेशको आह्वानमा संसारीमाईस्थानबाट निकालिएको र्याली महेन्द्र चौकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै अखिल नेपाल मजदुर संगठनका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले श्रम ऐन अक्षरस पालना हुनुपर्नेमा जोड दिएका छन् ।
कोशीका सामाजिक विकासमन्त्री पाँचकर्ण राईलाई ५ बुँदे ज्ञापनपत्र बुझाउँदै अध्यक्ष श्रेष्ठले प्रदेशमा रहेका श्रमिकको हकहितमा सरकार लाग्नुपर्ने उल्लेख गरे । नेपाल ट्रेड युनियन कांग्रेस कोशी प्रदेशका अध्यक्ष नारायणबाबु कार्कीले श्रमिकको न्यूनतम पारिश्रमिक ३० हजार ४ सय ४३ रुपैयाँ कायम गर्नुपर्नेमा जोड दिए ।
मुलुकको राजनीतिक आन्दोलन र गणतन्त्र स्थापनामा श्रमिकको भूमिका अहम रहेको बताउँदै उनले सरकारले श्रमिकको हकअधिकार सुनिश्चित गराउन विलम्ब गरिरहेको गुनासो गरे । उनले भने, ‘सरकारले अनौपचारिक क्षेत्रका श्रमिकलाई महत्व दिएको छैन । सामाजिक सुरक्षा कोषमा समेत सरकारी कर्मचारी, औपचारिक क्षेत्रका श्रमिकलाई जोड्ने काम भइरहेको छ । तर, अनौपचारिक क्षेत्रलाई भने बेवास्ता गरिएको छ । अनौपचारिक क्षेत्रका श्रमिकलाई यथाशीघ्र न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन हामी सरकारलाई आग्रह गर्छौं ।’
विगतदेखि नै सरकारले श्रमिकको आवाज नसुनेको बताउँदै अध्यक्ष कार्कीले पारिश्रमिकको नियम विश्वभर एकै भएपनि नेपालमा सरकार उदासीन भइरहेको उल्लेख गरे । त्रिपक्षीय वार्तामा श्रमिकको प्रस्तावलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिँदै उनले भने, ‘सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक नतोके आन्दोलनमा उत्रिनुको विकल्प छैन । सरकारसँगै रोजगार दाताले समेत श्रमिकको पारिश्रमिकलाई वैज्ञानिक ढंगबाट हेर्न सकेका छैनन्।’
ट्रेड युनियन कांग्रेसका मोरङ अध्यक्ष सुशील कोइरालाले श्रम सम्बन्धी ऐन नियमहरुलाई सुधार गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्न माग गरे । उनले सबै क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा व्यवस्था अनिवार्य गर्नुपर्ने बताएका छन् ।
अखिल नेपाल ट्रेड युनियन महासंघ मोरङका अध्यक्ष धर्मलाल माझीले श्रमिकलाई रोजगारदाताले न्यूनतम पारिश्रमिक उपलब्ध गराउनु पर्नेमा जोड दिए ।
ज्ञापनपत्र बुझ्दै मन्त्री राईले श्रमिकको मागप्रति सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
मजदुरको हकअधिकार सुनिश्चित गर्न आफूहरुले श्रमिकको मागलाई गम्भीरतापूर्वक लिएको उनको भनाइ छ । कार्यक्रममा विराटनगर र आसपासका उद्योगमा कार्यरत श्रमिक एवं मजदुरको उपस्थित थियो ।



















