बोर्डको निर्णय संशोधन : कोशी अस्पताल र बीपी प्रतिष्ठानलाई प्रथम सेवा बिन्दुको मान्यता

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ श्रावण १, बिहीबार ०८:०२

विराटनगर । स्वास्थ्य बिमा बोर्डले विराटनगरस्थित कोशी अस्पताल र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई फेरि ‘प्रथम सेवा बिन्दु’को मान्यता दिएको छ ।

बोर्डले असार १९ गतेको बैठकबाट साउन १ गतेदेखि यी २ स्वास्थ्य संस्था ‘रेफरल सेन्टर’ मात्र हुने निर्णय गरेपछि देखिएको तीव्र विरोधपछि उक्त निर्णय फिर्ता भएको हो । बुधबार स्वास्थ्य मन्त्रालयको निर्देशनमा बोर्डले दुवै संस्थालाई असोज मसान्तसम्मका लागि ‘प्रथम सेवा बिन्दु’ र ‘रेफरल सेन्टर’का रूपमा निरन्तरता दिने निर्णय गरेको हो ।

बोर्डको असार १९ को निर्णयले स्वास्थ्यकर्मी, कर्मचारी, नागरिक अभियन्ता र सेवाग्राहीबीच गम्भीर असन्तोष सिर्जना गरेको थियो । कोशी अस्पताल विकास समितिका अध्यक्ष डा. फरवर्ड सिलवालका अनुसार, स्वास्थ्य मन्त्रालयमार्फत दबाब सिर्जना भएपछि बिमा बोर्डले पुरानो निर्णय सच्याएर नयाँ निर्णय पठाएको हो ।

उक्त निर्णयसँगै अस्पतालमा पुनः बिमा योजनाअन्तर्गत ‘प्रथम सेवा विन्दु’को सेवा सञ्चालन हुनेछ । प्रथम सेवा बिन्दु हटाएर रेफरल केन्द्र बनाउने निर्णयले अस्पतालको दिगो आर्थिक स्थिति संकटमा पर्ने अवस्था आएको थियो ।

कोशी अस्पतालमा हाल ३ सय ७६ जना स्वास्थ्यकर्मी कार्यरत छन् । जसमध्ये १ सय २४ जना स्थायी, १ सय ६२ जना अस्थायी र ९० जना ज्यालादारी दरबन्दीमा छन् । ती सबैको मासिक तलब, पारिश्रमिक, सेवा सुविधा व्यवस्थापन गर्न अस्पताललाई झण्डै १ करोड ५० लाख रुपैयाँ आवश्यक पर्छ ।

प्रथम सेवा बिन्दुको मान्यता नदिने भएपछि बिमा प्रणाली अन्तर्गत सेवा लिने बिरामीलाई प्रत्यक्ष असर पर्न थालेको थियो । कोशी अस्पतालमा दैनिक १ हजारभन्दा बढी बिरामी पुग्ने गरेका छन् । जसमा ७० प्रतिशतभन्दा बढी बिरामी स्वास्थ्य बिमा योजनामार्फत उपचार लिन्छन् । तीमध्ये करिब ४० प्रतिशत भन्दा बढी सेवा प्रयोगकर्ता ‘प्रथम सेवा बिन्दु’कै उपचार सुविधा लिन आउने गरेका छन् ।

अस्पताल प्रशासनले असार १९ को निर्णयमा आपत्ति जनाउँदै स्वास्थ्य मन्त्रालयमा पत्राचार गरिसकेको थियो । अस्पतालसँगै विराटनगर महानगरपालिका, नेपाल चिकित्सक संघ मोरङ शाखा र विभिन्न सामाजिक अभियन्ता तथा संघसंस्थाले समेत उक्त निर्णयको विरोधमा आवाज उठाएका थिए । विरोधको चाप बढेपछि मन्त्रालय आफैं सक्रिय भएर बोर्डलाई निर्णय सच्याउन भनेको हो ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि सोही प्रकारको समस्या देखिएको थियो । प्रतिष्ठानका सहप्रवक्ता डा. अभिजित कुमारले मन्त्रालयबाट आएको पत्रबमोजिम प्रतिष्ठानलाई पनि असोज मसान्तसम्म ‘प्रथम सेवा बिन्दु’ र ‘रेफरल सेन्टर’ दुवैका रूपमा कार्य गर्न स्वीकृति प्राप्त भएको जानकारी दिए ।

यसअघिको निर्णयले बिमाअन्तर्गत सेवा प्रवाह गर्न कठिनाइ सिर्जना गर्नुका साथै सर्वसाधारणका लागि उपचार पहुँचमा बाधा पुर्याउने अवस्था देखिएको थियो । स्वास्थ्य सेवा बिमा योजनामा सेवा दिइरहेका अस्पताललाई केवल रेफरल सेन्टरमा सीमित गर्नुले बिमाको आधारभूत उद्देश्यमै प्रश्न उठाएको थियो ।

हालको निर्णयले अस्थायी समाधान प्रदान गरेपनि दीर्घकालीन रूपमा स्वास्थ्य बिमा योजना र सेवा बिन्दुको स्पष्ट नीतिगत ढाँचा नबन्दा यस्ता अन्योल र विवाद दोहोरिरहने चिन्ता सरोकारवालाबीच देखिएको छ । मन्त्रालय र बोर्डले सरोकारवालासँग समन्वय गर्दै आगामी नीति निर्माणमा स्पष्टता ल्याउनुपर्ने आवाज उठ्न थालेको छ ।

यसैबीच कोशी अस्पताल र बीपी प्रतिष्ठान दुवैले निर्णयको स्वागत गरेका छन् । सेवाग्राहीको सहज पहुँच, कर्मचारीको रोजगारीको सुनिश्चितता र अस्पतालको सञ्चालन लागत व्यवस्थापनका लागि अहिलेको निर्णय आवश्यक रहेको दुवै स्वास्थ्य संस्थाले उल्लेख गरेका छन् । बिमा बोर्डले भने आगामी दिनमा राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने दिशामा काम गरिने जनाएको छ ।

तपाइको प्रतिक्रिया
अब व्यवहार बदल्ने बेला
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि साढे ५ खर्ब बजेट सिफारिस
कांग्रेसको संकल्प : चुनावअघि गठबन्धन नगर्ने, रुख चिह्नमै एक्लै प्रतिस्पर्धा
गगन थापाको ४६ पृष्ठे प्रतिवेदनमा कांग्रेस बदल्ने प्रस्ताव (पूर्णपाठसहित)
अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूलीमा खोज तथा उद्धार स्थगित
कांग्रेसमा डिजिटल सदस्यतादेखि प्राइमरीसम्म, संगठन सुधारको नयाँ खाका
मोरङको जहदाबाट ८४ किलो बढी गाँजा बरामद
सुरु भयो कांग्रेस महाधिवेशनको बन्द सत्र, तीन छुट्टाछुट्टै हलमा छलफल
कांग्रेस विधानमा व्यापक फेरबदलको प्रस्ताव
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
सर्वोच्चमा न्यायाधीश छनोट गर्न न्याय परिषद् बैठक बस्दै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×