
विराटनगर । कोशी प्रदेशमा ब्राइट भिजन ल कलेज विराटनगरले नमुना अदालत (मुट कोर्ट) प्रतियोगिताको आयोजना गरेको छ ।
ब्राइट भिजन कलेजले आयोजना गरेको मुट कोट प्रतियोगितामा कलेजका ७२ जना विद्यार्थीको १८ वटा समूह बनाएर प्रतिस्पर्धा गरिएको थियो ।
आइतबारदेखि सुरु भएको प्रतियोगिताको बुधबार भएको फाइनलमा लोकेश धाडेवा, प्रतीक गौतम, आकृति खनाल, मनिष सिग्देलको टोली प्रथम भयो ।
उच्च अदालत विराटनगरका न्यायाधीश केशवप्रसाद बास्तोला, कृपासुर कार्की र वरिष्ठ अधिवक्ता शान्तिराम भण्डारी रहेको संयुक्त इजलासले सबै समूहको तार्किक बहस सुनेर विजेता, उपविजेता र तेस्रो भएको घोषणा गरेका थिए ।
प्रतियोगितामा रञ्जना घिमिरे, कृतिका ढकाल, अनुशा आचार्य र अमृता कटुवालको समूह दोस्रो भए भने अविशा निरौला, आयुषा राई, प्रश्रित ढकाल र प्रवीण सापकोटा तेस्रो भए ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । वेस्ट स्पिकरको उपाधि अविशा निरौलाले प्राप्त गरिन् ।
मोफसलकै पहिलो कानुन अध्यापन गराउने कलेजका रूपमा स्थापित यस कलेजले १४ औँ ब्याच उत्तीर्ण गराइसकेको छ । जहाँ हाल करिब ७ सय विद्यार्थी अध्ययनरत रहेको कलेज प्रशासनले जानकारी दिएको छ ।
कलेजका प्रमुख तथा वरिष्ठ अधिवक्ता चूडामणि आचार्यले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञानको पनि आवश्यक हुने भएकोले मुट कोर्ट प्रतियोगिताको आयोजना गरेको बताए ।
उनले यस्ता प्रतियोगिताले विद्यार्थीमा आत्मविश्वास बढ्ने र उनीहरूमा मुद्दाको बहस, खोजी गर्ने जस्ता क्षमताको विकास हुने बताए ।
एउटा काल्पनिक घटनालाई मुद्दा बनाएर विद्यार्थीहरूलाई समूहगत विभाजन गरी मुद्दाको अनुसन्धान तथा बहस गराइएको हो ।
मुट कोर्टले कानुनका विद्यार्थीहरूलाई राम्रा अधिवक्ता बन्न प्रशिक्षित गर्ने कलेजका प्रमुख आचार्यले बताए । उनले मुट कोर्ट प्रतियोगितामा भाग लिँदा विद्यार्थीहरूको लिखित तथा मौखिक वकालतको सीप विकसित हुने सुनाए ।
मुट कोर्टमा न्यायाधीशको भूमिकामा जिल्ला अदालत, उच्च अदालतका न्यायाधीश तथा वरिष्ठ अधिवक्ताहरू रहेका थिए ।
प्रतियोगिताका प्रमुख अतिथि उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले नमुना अदालत भए पनि इजलास जस्तै भएको आफूले अनुभूति गरेको बताइए ।
उनले प्रतिस्पर्धीहरू स्थापित कानुन व्यवसायी जस्तै आफूले पाएको र विद्यार्थीको तर्क, क्षमता र अनुसन्धानको विकास हुने बताए ।
गोग्राह अदालतबाट हत्या आरोपी ‘आमा’ निर्दोष ठहर
गोग्राह अदालत विराटनगरको ३ जना न्यायाधीश रहेको संयुक्त इजलासमा ‘नवजात शिशु’को हत्या आमाले गरेको आरोप मुद्दामा बहस हुन्छ ।
इजलासमा जाहेरवाला ९वादी०का तर्फबाट सरकारी वकिल र प्रतिवादी शिशुकी आमाको तर्फबाट कानुन व्यवसायीहरू (वकिल) आआफ्ना पक्षका लागि फैसला हुने गरी प्रमाणसहित उपस्थित भई बहर सुरु गर्छन् ।
जाहेरीवालाको तर्फबाट सरकारी वकिलहरूले नवजात शिशुकी आमाले परपुरुषसँगको अवैध सम्बन्धबाट जन्मेको बच्चा भनेर जन्मनासाथ हत्या गरेको दलिल र प्रमाणहरू पेस गर्छन् ।
वादीका तर्फबाट बहस सकिएपछि प्रतिवादीका वकिलहरूले आफ्नो पक्ष निर्दोष भएको र सफाइ पाउनु पर्ने भन्दै दलिल र निर्दोष भएका प्रमाणहरू इजलास समक्ष प्रस्तुत गर्छन् ।
यसैबीच, दुवै पक्षका वकिलहरूले बहस सुनिरहेका न्यायाधीशहरूले उनीहरूले गरेको तर्कमा बीच बीच प्रश्न गर्छन् र थप प्रमाण प्रस्तुत गरेका हुन्छन् ।
वादीका तर्फबाट ४ जना र प्रतिवादीका तर्फबाट ४ जनाले ३ घण्टा २० मिनेटसम्म आआफ्नो तर्क राखे । दुवै पक्षको बहस सकिएपछि फैसला कसको पक्षमा आउँछ भन्ने इजलासमा उपस्थित दुवै पक्षका मानिसहरूमा एक खालको सन्नाटा छाउँछ ।
संयुक्त इजलासमा रहेका न्यायाधीशहरूको एउटै राय आएसँगै मुद्दाको फैसला हुन्छ । न्यायाधीशहरूले वादी दाबी नपुग्ने फैसला सुनाउँछन् ।
यो वास्तविक घटना नभई एउटा काल्पनिक घटना बनाएर अदालतमा कसरी बहस पैरवी गर्ने र फैसला हुन्छ भनेर कानुन विद्यार्थीहरूलाई अदालत अभ्यास गराइएको हो ।



























