
बुटवल । रुपन्देही जिल्ला कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई ललितपुरको नख्खु कारागार लगिएको छ । शनिबार दिउँसो रुपन्देही कारागार भैरहवाबाट गौतमबुद्ध विमानस्थलबाट हुँदै उनलाई काठमाडौं लगिएकाे हाे ।
बुटवलको सुप्रीम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए । उनले गत जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा कारागार सरुवाका लागि निवेदन दिएका थिए ।
अदालतले जेठ १६ गते अनुमति दिएको थियो ।अदालतले जेल सार्न आदेश पनि दिएको थियो । तर गृहमन्त्री रमेश लेखकले रोकेपछि उनको जेल सरुवा रोकिएको थियो ।
कारागार सरुवा रोकेको विरोधमा आक्रोश बढेपछि सरकारले उनलाई काठमाडौं लगेको हो । कारागार सरुवा रोकेपछि रवि पत्नी निकिता पौडेलले अन्तराष्ट्रिय मानव अधिकारवादी संस्थासम्म पुग्ने बताएकी थिइन् । मानव अधिकार आयोगको टोलीले पनि उनी रहेको कारागारको अनुगमन गरेको थियो ।


















