न्यूरो अस्पतालको रजत जयन्ती : २५ वर्षमा २५ लाखको उपचार

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भाद्र ५, बिहीबार १७:३८

विराटनगर । विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पताल २५ वर्षमा प्रवेश गरेको छ । २५ वर्षमा प्रवेश गरेको अवसरमा अस्पतालले सेवामा छुटेको योजना घोषणा गरेको छ । स्थापनाको २५ वर्षमा अस्पतालले २५ लाख भन्दा बढीलाई स्वास्थ्य सेवा प्रवाह गरेको छ । ७ हजार ५ सय बढीको सफल शल्यक्रिया पनि गरेको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै अस्पतालले २५ वटा जाँचमा २५ प्रतिशत छुटको योजना ल्याएको छ । यो योजना भदौ ८ गतेदेखि १४ गतेसम्म लागु हुनेछ । डाक्टर विरेन्द्र विष्टले २०५७ साल भाद्र ८ गते न्यूरो डाइग्नोष्टिक एण्ड रिसर्च सेन्टर सञ्चालनमा ल्याएका थिए । सोही सेन्टर विस्तार हुँदै १५० बेड क्षमतामा सञ्चालन भइरहेको छ । अस्पतालले २५० बेड क्षमताको बनाउने योजना छ ।

अस्पतालले अब आफ्नो सेवालाई विराटनगर बाहिर कोशी र मधेश प्रदेशका थप तीन स्थानमा विस्तार गर्ने योजना रहेको अस्पतालका अपरेसनल डाइरेक्टर राजेश भट्टराईले बताए ।

‘हामी हाम्रो सेवा विराटनगर बाहिर कोशी प्रदेश र मधेश प्रदेशका थप तीन ठाउँमा विस्तार गर्दैछौँ,’ भट्टराईले भने, ‘कोशीको पूर्वी सहर झापाको दमक र मधेश प्रदेशका दुई स्थानमा हाम्रो सेवा विस्तार हुनेछ ।’

२५ वर्षअघि, अस्पतालका संस्थापक डा. विरेन्द्रकुमार बिष्टले बेलायतबाट अध्ययन पूरा गरेर फर्किएपछि २०५७ साल भदौ ८ गते ‘न्यूरो डाइग्नोष्टिक एण्ड रिसर्च सेन्टर’ को स्थापना गरेका थिए ।

वि.सं. २०६२: संस्था ‘न्यूरो हस्पिटल’ को रूपमा रूपान्तरण भयो र सोही वर्षको असोजमा तोसिबा सिटी स्क्यान मेसिन जडान गरियो । वि.सं. २०६३ः स्त्री तथा प्रसूति सेवाको सुरुवात भयो, जसले अस्पताललाई वहु–सेवा प्रदायक बनायो ।

वि.सं. २०६७ः निजी स्तरबाट पूर्वाञ्चलकै पहिलो न्यूरो सर्जरी सेवा सुरु भयो, जसले जटिल शल्यक्रियाका लागि काठमाडौं वा भारत जानुपर्ने बाध्यतालाई कम गर्यो ।

वि.सं. २०६८–६९ः अस्पतालले पूर्वाञ्चलकै पहिलो अत्याधुनिक १६ स्लाइसको सिटी स्क्यान र त्यसपछि सिमेन्स कम्पनीको एमआरआई मेसिन जडान गर्यो ।

‘त्यसबेला एउटा एमआरआई जाँच गर्न काठमाडौं वा छिमेकी राष्ट्र भारतका सहरहरू धाउनु पर्ने बाध्यता थियो,’ भट्टराईले भने,‘यो प्रविधिले निदान र उपचारमा ठूलो फड्को मार्यो ।’

वि.सं. २०७०ः अस्पताल ‘न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल’ मा परिणत भयो । यससँगै जनरल सर्जरी, नाक, कान, घाँटी, आँखा, मानसिक रोग र जनरल मेडिसिनजस्ता विभागहरू थपिए ।

वि.सं. २०७१ः पूर्वकै पहिलो क्याथल्याब सेवाको सुरुवात भयो, जसले मुटु रोगीहरूको उपचारमा कोशेढुंगा साबित भयो ।

वि.सं. २०७४ः ‘तुलसा मदर एण्ड चाइल्ड हस्पिटल’ को स्थापनासँगै मातृ तथा शिशु स्वास्थ्य सेवालाई थप विशिष्टिकृत गरियो । वि.सं. २०७७ः विश्वव्यापी कोभिड महामारीका बेला अग्रपंक्तिमा रहेर ‘कोभिड हस्पिटल’ स्थापना गरी हजारौंको ज्यान बचायो । वि.सं. २०८१ः विश्वविख्यात जनरल इलेक्ट्रिक (जीई) कम्पनीको नेपालकै पहिलो १२८ स्लाइस एपार्ड सिटी स्क्यान मेसिन जडान गरी निदान प्रविधिमा अर्को छलाङ मार्यो ।

२५ वर्षको अवधिमा अस्पतालले २५ लाखभन्दा बढी सेवाग्राहीलाई सेवा दिएको छ । यस अवधिमा ७ हजार ५ सय भन्दा बढी सफल न्यूरो सर्जरी, ५ हजार भन्दा बढी मुटुसम्बन्धी प्रोसिड्युर र ६ हजार भन्दा बढी हाडजोर्नीका शल्यक्रियाहरू सफलतापूर्वक सम्पन्न गरेको छ ।

‘यी सबै तथ्यांकहरूले स्वास्थ्य समाज निर्माणतर्फ बढेको हाम्रो कदमको प्रतिबिम्ब गर्दछ,’ भट्टराईले भने, ‘हामीले विभिन्न विशिष्टिकृत सेवाका लागि चिकित्सकहरू भित्र्याएर सेवाग्राहीलाई विशिष्ट श्रेणीको सेवा प्रदान गरिरहेका छौँ ।’

रजत जयन्तीको अवसरमा सामाजिक कार्यहरूलाई व्यवस्थित गर्न ‘तुलसा देवी फाउण्डेसन’ को स्थापना पनि गरेको छ । फाउण्डेसनमार्फत प्रत्येक वर्ष कोशी प्रदेशका एक उत्कृष्ट नर्स र एक उत्कृष्ट मेडिकल अफिसरलाई ५१ हजार राशिको पुरस्कारसहित सम्मान गर्नेछ ।

यसबाहेक, अस्पतालले आफ्नो प्रांगणमा ब्लड बैंक स्थापना गर्ने, न्यूरो बंगलामूखी सोसाइटीसँगको सहकार्यमा सरसफाइ, वृक्षारोपण, सीसीटीभी तथा बत्ती जडानजस्ता सामुदायिक कार्यहरू गर्ने योजना बनाएको छ ।

सेवाग्राहीहरूलाई प्रत्यक्ष लाभ पुर्याउन भदौ ८ गतेदेखि १४ गतेसम्म २५ वटा विभिन्न स्वास्थ्य जाँचमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×