अनलाइन ठगीको पासोमा पूर्वसांसद : ओटीपी माग्दै फोन आयो, खाताको पैसा गायब भयो

Share this
705shares
मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८२ भाद्र ११, बुधबार १७:१४

विराटनगर । ‘म वाणिज्य बैंकबाट म्यानेजर बोलेको, तपाईंको ‘केवाईसी अपडेट’ गर्नुपर्छ’ भन्दै कोशी प्रदेशको १ जना पूर्वसांसद (पूर्वप्रदेशसभा सदस्य)लाई ‘वाट्सएप’मा फोन आयो ।

वाणिज्य बैंकमा खाता खोलेकी ती महिला पूर्वसांसदले बैंकको म्यानेजर नै भनेर फोन आइसकेपछि सहजै विश्वास गरिन् । उनलाई विश्वासमा पारेर फोन गर्ने व्यक्तिले मोबाइलमा आएको ‘ओटीपी’ (वान टाइम पासवर्ड) मागे । म्यासेजमा आएको ‘ओटीपी’ तत्कालै दिइन् ।

त्यसलगत्तै उनको खातामा भएको १ लाख ६९ हजार १० रूपैयाँ गायब भयो । ‘मेरै खाता भएको बैंकको म्यानेजर भनेर ‘वाट्सएप’मा फोन आएको थियो । तत्काल ‘केवाईसी अपडेट’ गर्नुपर्छ भनेर बैंकको लोगोसहित कल आयो । मलाई ‘माननीय ज्यू’ भनेर सम्बोधन गर्यो । अनि विश्वास गरेर ‘ओटीपी’ उपलब्ध गराएँ । त्यसलगत्तै खाताको पैसा नै गायब भयो,’ उनले भनिन् ।

खाताको पैसा गायब भएपछि मात्रै आफू ‘ह्याकर’को फन्दामा परेको थाहा भएको उनले बताइन् । घटना असार २७ गते शुक्रबार दिउँसो करिब २ः५० बजेतिरको रहेको उनले सुनाइन् । बैंकले फोन गरेर खातावालासँग ‘ओटीपी’ माग्दैन भन्ने थाहा हुँदाहुँदै आफू ठगीको पासोमा परेको गुनासो उनको छ । ती पूर्वसांसद कानुन व्यवसायी (अधिवक्ता) पनि हुन् ।

बैंकले ‘ओटीपी’ कहिल्यै माग्दैन भन्ने थाहा थियो । त्यहाँमाथि म आफैं वकिल भएकाले क्रिप्टोकरेन्सीका धेरै केसहरु हेरेकी छु । तर, हुने दिन केही गर्दा नटर्ने रहेछ ।

‘बैंकले ‘ओटीपी’ कहिल्यै माग्दैन भन्ने थाहा थियो । त्यहाँमाथि म आफैं वकिल भएकाले क्रिप्टोकरेन्सीका धेरै केसहरु हेरेकी छु । तर, हुने दिन केही गर्दा नटर्ने रहेछ । पैसा गायब भएयता तनाव भइरहेको छ,’ उनले भनिन् । उनका अनुसार आफूभन्दा अघि पनि १ जना कानुन व्यवसायीलाई ‘केवाईसी अपडेट’कै लागि भनेर कल आएको रहेछ ।

‘उहाँले मेरो ‘केवाईसी अपडेट’ भइरहेको छ भन्नु भएछ । त्यसपछि मलाई फोन गरेछ,’ उनले भनिन् । अनलाइनमार्फत ठगी गर्ने गिरोहले नेपाल प्रहरीकै पूर्वडीआईजीको समेत खाताबाट ३२ लाख रूपैया गायब बनाइदिएको पाइएको उनले बताइन् ।

समाचारमा आफ्नो नाम र ठेगाना नखुलाइदिन आग्रह गरेकी ती पूर्वसांसदले खाताबाट पैसा गायब भएको जानकारी तत्कालै प्रहरीलाई गराइन् । प्रहरीले बैंकसँग विवरण माग गर्यो । वाणिज्य बैंकले उपलब्ध गराएको विवरणबाट उक्त रकम सुरुमा सुनसरीको देवानगन्ज गाउँपालिका–५ घर भएका २६ वर्षीय शनिकुमार मण्डलको कामना विकास बैंकको खातामा गएको पत्ता लाग्यो ।

उनलाई प्रहरीले असार २८ गते पक्राउ गर्यो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ठगहरूले प्रलोभनमा पारेर मण्डलको नाममा खाता खोल्न लगाएको खुलेको छ । ‘मण्डल फ्याक्ट्रीमा काम गर्ने सामान्य कामदार हुन् । पारिवारिक आर्थिक अवस्था कमजोर छ । भारतीय नागरिकसहितका केही व्यक्तिले विश्वासमा पारेर वाणिज्य लगायतका ८ वटा बैंकमा खाता खोल्न लगाएको पाइयो,’ प्रहरी स्रोतले भन्यो ।

खातामा १ लाख आउँदा ४ हजार रुपैयाँ पाइन्छ भन्ने प्रलोभन देखाएर उनलाई बैंकमा खाता खोल्न लगाएको पाइएको छ । ‘खाता मात्रै खोल्न लगाएछन् । त्यसपछि चेकदेखि लिएर सबै खाता खोल्न लगाउनेले नै लगेछन् । मण्डलको नाममा खोलेको खाता भारतीय नागरिकले चलाउने गरेको पत्ता लाग्यो । ती व्यक्ति अहिलेसम्म फरार छन् । खोजी जारी छ,’ १ प्रहरी अधिकारीले भने ।

मण्डलसँगै प्रहरीले मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का २८ वर्षीय भीमराज थापा, सुनवर्षी नगरपालिका–४ की ३४ वर्षीया फूलवती ऋषिदेव (निरौला) र सुनवर्षी–४ कै ४० वर्षीय प्रवीण ऋषिदेवलाई पक्राउ गरेको छ । भीमराज भदौ २ गते, फूलवती भदौ ६ र प्रवीण भदौ ७ गते पक्राउ परेका हुन् ।

४ जना पक्राउ परिसकेका छन् । १० जनाको खोजी जारी राखिएको छ । विभिन्न कोणबाट सूक्ष्म तरिकाले अनुसन्धान गर्ने काम भइरहेको छ ।

धनकुटा प्रहरीले यस प्रकरणको अनुसन्धान गरिरहेको छ । धनकुटा प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षेत्रीका अनुसार यो प्रकरणमा भारतीय नागरिकसहित १४ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । ‘४ जना पक्राउ परिसकेका छन् । १० जनाको खोजी जारी राखिएको छ । विभिन्न कोणबाट सूक्ष्म तरिकाले अनुसन्धान गर्ने काम भइरहेको छ,’ एसपी थापाले भने ।

उनले पक्राउ परेकाविरुद्ध संगठित अपराध ऐनअन्तर्गतको मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर प्रक्रिया अघि बढाइएको बताए । प्रहरीका अनुसार पूर्वसांसदको खाताबाट चोरी गरिएको रकम निकाल्न पूर्वी नेपाल, चितवन, काठमाडौंदेखि सुदूरपश्चिमसम्मका मान्छेको खाता प्रयोग भएको पाइएको छ ।

‘पूर्वसांसदको खाताबाट गायब बनाएको पैसा निकाल्न विभिन्न बैंक खाता र ‘डिजिटल वालेट’को प्रयोग गरेको देखिन्छ । आधा घण्टाभित्रै १४ वटामा कारोबार (ट्रान्जेक्सन) गरेको पाइयो । छोटो समयमै खाता र वालेटसहित १४ वटामा ‘ट्रान्सफर’ गरिसकेपछि अन्तिममा निकालेको खुल्यो,’ प्रहरी स्रोतले भन्यो ।

तर, प्रहरीले भने पूर्वसांसद र वकालत क्षेत्रमै सक्रिय व्यक्ति अनलाइन ठगको जालोमा पर्नुलाई आश्चर्य मानेको छ । ‘राजनीतिक, पेसागत र सामाजिक हिसाबले सचेत व्यक्तिकै हालत यस्तो छ,’ प्रहरीका १ अधिकारीले भने, ‘झन् सामान्य नागरिकको अवस्था कस्तो होला ?’

अनलाइन ठगीमार्फत सर्वसाधारणको रकम फुत्काउने घटना समस्याको रूपमा मात्रै देखा परेको छैन, प्रहरीको टाउको दुखाइको विषय बनिरहेको छ ।

कोशी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी दीपक पोखरेल बैंक तथा ‘डिजिटल वालेट’ सेवा प्रयोगकर्तामाझ देखिएको असावधानीले यस्ता प्रकारका ठगी बढेको बताउँछन् । सावधानी नअपनाउँदा, सेवालाई सामान्य लिँदा र तत्काल अर्काको विश्वास गर्दा ठगहरुको पासोमा परिने उनको भनाइ छ ।

अनलाइन ठगीमार्फत सर्वसाधारणको रकम फुत्काउने घटना समस्याको रूपमा मात्रै देखा परेको छैन, प्रहरीको टाउको दुखाइको विषय बनिरहेको छ । एसएसपी पोखरेलका अनुसार मोबाइल बैंकिङ, ई–सेवा भेरिफिकेसन, केवाईसी अपडेट, खाता नवीकरण र जागिरको लोभ देखाउँदै ठगहरूले सर्वसाधारणको खातामा भएको लाखौं रुपैयाँ लगिरहेका छन् ।

‘ठगको निशानामा परेका अधिकांश पीडितहरू पढेलेखेका, सामाजिक अगुवा, व्यवासायीदेखि डिजिटल सेवाको न्यूनतम ज्ञान भएका नै धेरै छन्,’ प्रहरी स्रोतले भन्यो, ‘योजनाबद्ध र विश्वसनीय ठगीको शैलीले खातावालालाई सहजै विश्वासमा पार्ने गरेको पाइन्छ ।’ प्रहरीका अनुसार बैंकमा खाता भएकालाई विश्वासिलो हिसाबले फोन गरेर ‘ओटीपी’ मागिन्छ ।

‘विश्वासमा परेर तत्काल ‘ओटीपी’ दिन्छन् । त्यसलगत्तै खाताको पैसा गायब भइसकेको हुन्छ । थाहा नपाउँदै आफू ठगीको सिकार भइसकेका हुन्छन् । प्रहरीलाई समेत घटनामा संलग्नको पहिचान र अनुसन्धान गर्न गाह्रो परिरहेको हुन्छ,’ एसएसपी पोखरेलले भने । ठगीमा संलग्नले सीमापार भारततर्फ बसेर फोन गर्ने, रकम तेस्रो व्यक्तिका खातामा जम्मा गर्ने र त्यस्ता खाताहरू अरूलाई लोभ देखाएर खोल्न लगाउनेजस्ता रणनीति अपनाउने गरेको उनको भनाइ छ ।

ठगी गरिएको रकम सिधै मुख्य अभियुक्तको खातामा नजाने तथा विभिन्न व्यक्तिलाई प्रलोभनमा पारेर खाता खोल्न लगाउने र ती खातामार्फत पैसा ‘ट्रान्सफर’ गरिने हुँदा अनुसन्धान जटिल भइरहेको छ ।

धेरैजसो ठगी सीमावर्ती क्षेत्र र विदेशबाट सञ्चालन भइरहेको प्रहरीले जनाएको छ । ठगी गरिएको रकम सिधै मुख्य अभियुक्तको खातामा नजाने तथा विभिन्न व्यक्तिलाई प्रलोभनमा पारेर खाता खोल्न लगाउने र ती खातामार्फत पैसा ‘ट्रान्सफर’ गरिने हुँदा अनुसन्धान जटिल भइरहेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार ठगको समूहले सवारी चालक, बेरोजगार युवायुवती, सामान्य नागरिक, विद्यार्थीसम्मलाई सानो कमाइको लोभ देखाएर खाता खोल्न लगाउने र त्यसको प्रयोग गरी ठगी गरिएको रकम ‘ट्रान्सफर’ गर्ने गरेको पाइन्छ । अनलाइन ठगी रोकथामका लागि प्रहरीले विभिनन जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

तर, पनि ठगी रोकिएको छैन । ठगीबाट जोगिनलाई मोबाइलमा आएको ओटीपी, भेरिफिकेसन कोड वा बैंक खाताको विवरण अरूलाई दिन नहुने एसएसपी पोखरेलले बताए । उनका अनुसार कुनै ‘अफर’ देखाउँदै काम गरिदिने बहानामा फोन वा म्यासेज आयो भने कम्पनी तथा व्यक्तिको वैधानिकता र आधिकारिकता बुझेर मात्रै निर्णय लिनुपर्छ ।

‘बढ्दो अनलाइन ठगी रोक्न कानुनी, प्रविधिक र संस्थागत संयन्त्र बलियो बनाउन आवश्यक छ । त्योभन्दा पहिला नागरिक स्वयंले सजगता र सतर्कता नअपनाएसम्म यस्तो ठगी नियन्त्रण गर्न सकिँदैन । नागरिकको सचेतना नै सुरक्षाको ठूलो उपाय हो,’ पोखरेलले भने ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×