यूएईद्वारा भिजिटसँगै वर्किङ भिसामा पनि रोक, नेपाली कामदारमा चिन्ता

Share this
759shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज १, बुधबार १९:३४

काठमाडौं  । संयुक्त अरब इमिरेट्स (यूएई)ले भिजिट भिसासँगै वर्किङ भिसामा पनि अस्थायी रोक लगाएको छ ।

एनआरएनए यूएईका उपाध्यक्ष भीम मल्ल ठकुरीका अनुसार हाल यूएईले दुवै प्रकारका भिसा बन्द गरेको छ  । तर, उक्त प्रतिबन्ध कहिलेसम्म लागू रहन्छ भन्ने यकिन छैन ।

यूएईको उक्त कदम पछिल्लो समयमा नेपालबाट भिजिट भिसाको नाममा फ्रिल्यान्सिङ गर्ने वा भिजिट भिसा लिएर ठगी गर्ने बिचौलियाहरूको गतिविधि बढेको पृष्ठभूमिबाट आएको देखिन्छ  । अबुधाबीस्थित नेपाली दूतावासले यस विषयमा अहिलेसम्म कुनै आधिकारिक जानकारी प्राप्त नभएको जनाएको छ ।

दुबई र नेपालमा रहेका विभिन्न कम्पनीहरूले बताए अनुसार भिसा टाइपिङको क्रममा आवेदन दिन समस्या भएको छ भने पहिले नै टाइप भइसकेका भिसा पनि क्रमशः रद्द हुन थालेको छ । वैदेशिक रोजगारीको मुख्य गन्तव्य मानिने यूएईमा हाल करिब ८ लाख नेपाली कामदार कार्यरत रहेका छन्  ।

यूएईको निर्णयका कारण लाखौं नेपाली कामदार र तिनीहरूका रोजगारदाता कम्पनीमा असुरक्षा र चिन्ता बढेको छ  । हालको नेपालको आर्थिक र सामाजिक अवस्था तथा भिजिट भिसाका नाममा ठगीको बढ्दो प्रवृत्तिलाई मध्यनजर गर्दै यूएईले कदम उठाएको बताइएको छ ।

यूएईको कदमले नेपाली कामदारका लागि वैदेशिक रोजगारीमा थप चुनौती सिर्जना गर्ने सम्भावना रहेको देखिन्छ । नेपाली पक्षले यस विषयमा स्पष्ट पार्न यूएईलाई आग्रह गर्ने तयारी थालेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.