विद्यालयलाई एन्फाको सहयोग

Share this
658shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १३, शनिबार १८:१०
विद्यालयलाई एन्फाको सहयोग

विराटनगर । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मोरङका निजी तथा सामुदायिक विद्यालयलाई खेल सामग्री प्रदान गरेको छ ।

मोरङ जिल्ला फुटबल संघको सहकार्यमा एन्फाले शनिबार विराटनगरका एक कार्यक्रमकाबीच मोरङका ६६ वटा विद्यालयलाई फुटबल वितरण गरेको छ । ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमअन्तर्गत मोरङका निजी तथा सामुदायिक ६६ वटा विद्यालयलाई ८ सयभन्दा बढी फुटबल वितरण गरेको हो ।

एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, एन्फाका केन्द्रीय उपाध्यक्ष दावा लामा, केन्द्रीय सदस्य दीपेन्द्र धिमाल, पूर्ववरिष्ठ फुटबल प्रशिक्षक सन्तोष बानियाँ, मोरङका अध्यक्ष सञ्जीव बुढाथोकीलगायतले विद्यालयका प्रतिनिधिलाई फुटबल वितरण गरे ।

कार्यक्रममा बोल्दै अध्यक्ष नेम्वाङले फिफा फुटबल फर स्कुल कार्यक्रमले बालबालिकालाई फुटबलप्रति थप आकर्षण बढाउन मद्दत मिल्ने बताए । उनले यस कार्यक्रमले ४ देखि ९ वर्ष उमेरका बालबालिकाको सर्वाङ्गीण विकासमा मद्दत पुग्ने उल्लेख गरे ।

यस प्रकारको कार्यक्रमले आगामी दिनमा फुटबलका लागि नयाँ प्रतिभाको उत्पादन हुने विश्वास लिएको नेम्वाङले प्रस्ट्याए । यसलाई निरन्तरता दिन तीन तहको सरकारले समेत विशेष ध्यान दिनुपर्नेमा अध्यक्ष नेम्वाङले जोड दिए ।

जिल्ला फुटबल संघ मोरङका अध्यक्ष संञ्जीव बुढाथोकीले फुटबलको विकाससँगै बालबालिकामा समेत त्यसको प्रभाव पर्ने उल्लेख गरे ।

एन्फाले यस कार्यक्रम अन्तर्गत ३२ हजार बढी फुटबल ७७ जिल्लाका विभिन्न १ हजार १ सय विद्यालयमा उपलब्ध गराउने जनाएको छ ।

मुलुकका करिब ६ लाख बालबालिकासम्म फिफा फुटबल फर स्कुल कार्यक्रममा सहभागी गराउने लक्ष्य लिएको एन्फाले कोशी प्रदेशका करिब ३ सय वटा विद्यालयलाई फुटबल उपलब्ध गराएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.