जेन-जी आन्दोलनले रोकिएको ‘रेड पान्डा म्याराथन’ पुस १ गते हुँदै

Share this
641shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २६, शुक्रबार १०:४६
रेड पान्डा संरक्षणका लागि सोलुखुम्बुमा ‘रेड पान्डा म्याराथन’ हुने

इलाम। गत असोज ४ गते गर्ने तयारी गरिए पनि जेन–जी आन्दोलनका कारण स्थगित भएको ‘रेड पान्डा म्याराथन’ अब आउँदो पुस १ गते आयोजना गरिने भएको छ।

विश्वकै दुर्लभ वन्यजन्तु रेड पान्डाको संरक्षणसँगै जैविक विविधताको महत्वबारे समुदायदेखि देश विदेशसम्म सचेतना फैलाउने उद्देश्यका साथ यो म्याराथन आयोजना गरिएको हो। म्याराथनको दूरी ४४.२ किलोमिटर तोकिएको छ, जुन समुद्री सतहदेखि १ हजार ८ सय २० मिटरमा अवस्थित इलाम सदरमुकाम इलाम बजारबाट सुरु भएर ३ हजार ६ सय १० मिटर उचाइमा रहेको पर्यटकीय क्षेत्र सन्दकपुर पुगेर टुंगिने आयोजक दिप ज्योती युवा क्लबले जनाएको छ।

आयोजक दिप ज्योती युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तावाका अनुसार, प्रतियोगितामा करिब एक सय धावकको सहभागिता रहनेछ। यो म्याराथन पुरुष र महिला दुवै विधामा खुला तथा स्थानीय (इलाम, पाँचथर, ताप्लेजुङ) तीन जिल्लाका धावकले सहभागिता हुन पाउने गरी २ विधामा आयोजना गरिनेछ।

पुरस्कार राशितर्फ, पुरुष र महिला दुवै विधामा खुलातर्फ दौडिएर पहिलो हुने धावकले जनही १ लाख ५० हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन्। दोस्रोले समान एक १ लाख, तेस्रोले ५० हजार र चौथोले ३० हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन्। यस्तै स्थानीयतर्फका सहभागीमध्ये पहिलोले २५ हजार, दोस्रोले २० हजार, तेस्रोले १० हजार र चौथोले पाँच हजार पुरस्कार पाउने क्लबले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

दिप ज्योती युवा क्लबसहितका साझेदार संस्थाले रेड पान्डा नेटवर्क, प्ले फर नेचर, इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकाको सहयोगमा कोशी प्रदेशका पहाडी क्षेत्रमा रेड पान्डा संरक्षणका लागि विभिन्न क्रियाकलाप गरिरहेको छ। प्रतियोगितामा नेपाली सेनाको प्राविधिक सहयोग रहने जनाइएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.