
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाको पदावधि औपचारिक रूपमा समाप्त भएको छ ।
आगामी प्रतिनिधिसभा निर्वाचनको कानुनी प्रक्रिया अघि बढेसँगै संविधानले तोकेको समयसीमाअनुसार दुवै पदाधिकारी अब आफ्नो जिम्मेवारीबाट मुक्त भएका हुन् । पदावधि सकिएसँगै सभामुख घिमिरेले सरकारी निवास छोड्ने तयारीसमेत थालेका छन् ।
सभामुख घिमिरेका सञ्चार विज्ञ शेखर अधिकारीका अनुसार घिमिरेले अब संसद् भवनस्थित कार्यालय जाने छैनन् र सरकारी आवास छाड्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । उनले निजी बसोबासका लागि डेरा खोजिसकेको जानकारी पनि अधिकारीले दिएका छन् ।
अधिकारीका अनुसार संसद् पुनर्स्थापनासम्बन्धी विषय अदालतमा विचाराधीन रहेकाले त्यसमा सम्भावित जवाफ दिनुपर्ने परिस्थिति आउन सक्ने भन्दै घिमिरेले कुनै औपचारिक सार्वजनिक घोषणा नगरी बिदा हुने निर्णय गरेका हुन् । ‘पुनर्स्थापनाको मुद्दा अदालतमा पुगेको छ । त्यससँग सम्बन्धित विषयमा जवाफ दिनुपर्ने अवस्था आउन सक्छ । त्यसैले प्रक्रियागत अप्ठ्यारो नआओस् भनेर उहाँले सार्वजनिक घोषणा नगरी नै जिम्मेवारीबाट अलग हुने निर्णय गर्नुभएको हो,’ अधिकारीले भने ।
नेपालको संविधानले प्रतिनिधिसभा विघटन भएको अवस्थामा त्यसअघिको प्रतिनिधिसभामा बहाल रहेका सभामुख र उपसभामुख अर्को प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिनसम्म मात्रै पदमा रहने स्पष्ट व्यवस्था गरेको छ । यही संवैधानिक प्रावधानका आधारमा सभामुख घिमिरे र उपसभामुख रानाको पदावधि समाप्त भएको हो ।
प्रतिनिधिसभा निर्वाचन फागुन २१ गतेका लागि तोकिएको छ । निर्वाचनको तयारीस्वरूप निर्वाचन आयोगमा आइतबार र सोमबार समानुपातिक तर्फका उम्मेदवारहरूको बन्द सूची बुझाउने कार्यतालिका रहेको छ । यही कार्यतालिकासँग जोडेर हेर्दा सभामुख र उपसभामुखको कार्यकाल आइतबार राति १२ बजेदेखि औपचारिक रूपमा समाप्त भएको मानिन्छ ।
यससँगै प्रतिनिधिसभाको हालसम्मको नेतृत्व संरचना पूर्ण रूपमा समाप्त भएको छ । संसद् विघटनपछि पनि सीमित संवैधानिक दायित्वका साथ पदमा रहँदै आएका सभामुख र उपसभामुख अब व्यक्तिगत हैसियतमा फर्कने भएका छन् । सभामुख घिमिरेले सरकारी निवास छोड्ने तयारी थालेसँगै नयाँ राजनीतिक अध्यायतर्फ उनी प्रवेश गर्न लागेको संकेतसमेत मिलेको छ ।

























