
विराटनगर । मोरङमा गोली हानेर प्रहरीले नियन्त्रणमा लिएको एम्बुलेन्सबाट ५ सय २१ किलो गाँजा बरामद भएको छ ।
गाँजा बोकेको एम्बुलेन्सलाई नियन्त्रणमा लिन प्रहरीले आइतबार राति ११ बजेतिर केराबारी गाउँपालिका–५ लाफा टोलमा हवाई फायर गरेको थियो । प्रहरीले गोली चलाएर गाँजा लोड गरिएको एम्बुलेन्समा नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको एम्बुलेन्सबाट निकालेर तौल लिँदा गाँजा ५ सय २१ किलो भएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । उनका अनुसार गाँजा ओसारपसारका लागि एम्बुलेन्सको दुरुपयोग गरिएको पत्ता लागेको छ ।
कटवालले एम्बुलेन्समा १६ वटा पोकाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा भेटिएको जानकारी दिए । गाँजा बरामद गरेको प्रहरीले एम्बुलेन्सहित २ जनालाई पक्राउसमेत गरेको छ ।
एम्बुलेन्सको प्रयोग गरेर धनकुटाबाट मोरङतर्फ गाँजा ल्याइँदैछ भन्ने सूचना प्राप्त हुनसाथ नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय बेलबारीबाट इन्स्पेक्टर राजीव गिरी र इलाका प्रहरी कार्यालय केराबारीबाट असई फजिन्द्र तोलाङ्गीको नेतृत्वमा संयुक्त टोली खटिएको थियो । शंकास्पद अवस्थामा आउँदै गरेको प्रदेश १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई प्रहरीले केराबारी–५ लाफा टोलमा रोक्न खोज्यो ।
तर, प्रहरीलाई देख्नसाथ एम्बुलेन्स छाडेर त्यहाँ सवार रहेकाहरु फरार हुन खोजेका थिए । उनीहरुलाई नियन्त्रणमा लिने क्रममा असई तोलाङ्गीले चाइनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेका हुन् ।
भाग्न खोेजेका दुवै जनालाई गोली चलाएर नियन्त्रणमा लिन प्रहरी सफल भएको छ । गाँजा ओसारपसार गर्ने एम्बुलेन्स चालक धनकुटाको सहिदभूमि गाउँपालिका–६ का ३५ वर्षीय निश्चल राई र त्यहाँ सवार रहेका साँगुरीगढी गाउँपालिका–२ का २० वर्षीय खगेन्द्र लिम्बूलाई पक्राउ गरिएको जानकारी एसपी कटवालले दिए ।
उक्त एम्बुलेन्स धनकुटाको सहिदभूमि गाउँपालिका–१ खाल्सा–छिन्ताङस्थित सूर्यबहादुर थापा प्रतिष्ठानको नाममा सञ्चालित रहेको पाइएको छ । एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद भएको हो ।
नियन्त्रणमा लिइएको एम्बुलेन्स, बरामद भएको गाँजा र पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ । पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
मोरङमा गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, २ जना पक्राउ

























