
विराटनगर । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य ध्येय तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन् । विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सरकारको ध्यान सत्तामा टिकिरहने नभई निर्वाचनमार्फत निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नेतर्फ केन्द्रित रहेको स्पष्ट पारेका छन् ।
‘निर्वाचन लोकतन्त्रको अभिन्न प्रक्रिया हो । निर्वाचन बिना सुशासन कायम गर्न कठिन हुन्छ र देश थप अस्थिरतातर्फ धकेलिन सक्छ। त्यसैले सुशासन चाहने हो भने आवधिक निर्वाचनको विकल्प छैन,’ उनले भने। ताजा जनादेश प्राप्त सरकारले मात्र दृढताका साथ काम गर्न सक्ने भएकोले सरकारले निर्वाचनलाई पहिलो प्राथमिकतामा राखेको उनको भनाइ छ ।
गृहमन्त्री अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सरकारले आवश्यक सम्पूर्ण तयारी अघि बढाएको जानकारी दिए । निर्वाचनको कार्यतालिका सार्वजनिक भई सोही बमोजिम काम भइरहेको र समानुपातिकतर्फको नामावली समेत निर्वाचन आयोगमा दर्ता भइसकेको उनले बताए ।
जेनजी जनआन्दोलन पछिको असहज परिस्थितिलाई सामान्यीकरण गर्न र सुरक्षाको प्रत्याभूति दिन सरकार सफल भएको दाबी गर्दै उनले गृहमन्त्रालयको कार्यभार चुनौतीपूर्ण रहेको उल्लेख गरे । सुरक्षा गोष्ठीले कोशी प्रदेशको सुरक्षा वातावरण बुझ्न र निर्वाचनका लागि सुरक्षित योजना बनाउन ठोस सहयोग पुग्ने विश्वास उनले व्यक्त गरेका छन् ।

























