
काठमाडौँ । विशेष अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने आदेश दिएको छ । बुधबार भएको थुनछेक बहसपछि विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो । पोखरास्थित लिची बगान जग्गा घोटाला प्रकरणमा मुछिएका गुप्ताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
यस प्रकरणमा गुप्तासहित तत्कालीन भूमि व्यवस्था मन्त्री रन्जिता श्रेष्ठ, कास्की मालपोत कार्यालयका प्रमुख रामचन्द्र अधिकारी र बिचौलियाहरू सुजनकुमार लामा, खमबहादुर पुन, यामकुमारी गुरुङ तथा तुलसीराम बुढामगर गरी ७ जनाविरुद्ध मुद्दा चलाइएको थियो । तत्कालीन मन्त्री गुप्तामाथि भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख रुपैयाँ र मालपोत प्रमुखको सरुवा रोक्न ५३ लाख रुपैयाँ घुस लेनदेनको डिल गरेको गम्भीर आरोप लागेको छ ।
गत असारमा सार्वजनिक भएको ९ मिनेट १३ सेकेन्ड लामो एक अडियो संवादमा गुप्ताले बिचौलियासँग नियुक्ति र सरुवाका विषयमा आर्थिक लेनदेनको कुरा गरेको सुनिन्छ । अडियोमा भूमि आयोग कास्कीको अध्यक्षमा खेमबहादुर पुनलाई नियुक्त गर्न अर्का मन्त्री बलराम अधिकारीलाई फोन गरिदिन आग्रह गरिएको विषय समेत समावेश थियो । उक्त अडियो सार्वजनिक भएर विवाद चर्किएपछि गुप्ताले आफ्नो पदबाट राजीनामा दिनुपरेको थियो। अदालतको यो आदेशसँगै अब उनी कारागारमै रहेर मुद्दाको पुर्पक्ष गर्नेछन् ।

























