
विराटनगर । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे बस्तीमा बाढीबाट प्रभावित भएकाहरुलाई कोशी प्रदेश सरकारले राहत सामग्री उपलब्ध गराएको छ ।
बाढी प्रभावित स्थलसम्म पुग्न नसकेपछि कोशी सरकारका तर्फबाट बाढीपीडितका लागि प्रमुख जिल्ला अधिकारीमार्फत राहत सामग्री हस्तान्तरण गरिएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी र खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकराज कार्कीले मंगलबार सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा पुगेर प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)लाई फाइवर सिरक ५० थान, म्याट्रेस ५० थान, तन्ना ५० थान र सिरानी ५० थान हस्तान्तरण गरेका हुन् ।
राहत सामग्री हस्तान्त्रणपछि मन्त्री अधिकारीले स्थानीय तह र संघीय सरकारसँगको सहकार्यमा थामेका बाढी प्रभावितहरूलाई पुनर्स्थापनाका लागि प्रदेश सरकारले पहल गर्ने बताए । प्रजिअ पाण्डेले प्रदेश सरकारले हस्तान्त्रण गरेको राहत सामग्री मौसम खुलेपछि प्रभावित क्षेत्रमा पठाइने जानकारी दिइन् ।
‘अहिले मौसम खुलेको छैन । मौसम खुलेपछि र हेली (हेलिकप्टर) व्यवस्थापन गरेर सामग्री पठाउँछौं । सरकारसँग हामीले न्यानो कपडा माग गरेका थियौं,’ उनले भनिन् । गत शुक्रबार खुम्बु क्षेत्रको थामे बस्तीभन्दा करिब सात किलोमिटर माथि रहेका दुईवटा हिमताल फुट्दा थामे खोलामा बाढी आएको थियो । खोलाको बाढीका कारण थामे बस्तीका ५६ घर परिवार विस्थापित भएका छन् ।























