
विराटनगर । मोरङको जहदा गाउँपालिका–७ तारेगामामा आगोले एउटा घर जलेको छ । घटनामा ६ लाख बराबरको क्षति भएको छ ।
प्रहरीका अनुसार स्थानीय नथु मण्डलको घरमा बुधबार बिहानका राति २ बजेतिर आगलागी भएको हो । मण्डलको टाटीबेरा लगाएर बनाएको र कर्कटपाताको छानो भएको १ तले घर आगोले पूर्णरूपले ध्वस्त बनाएको छ ।
घरसहित घरभित्र रहेका अन्नपात, लत्ताकपडा, काठपातलगायत सबै जलेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको आशंका छ ।
प्रहरीका अनुसार आगोले ६ लाख बराबरको क्षति भएको छ । स्थानीयको सहयोगमा १ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।























