
जनकपुरधाम । माइतबाट घर फर्किएकै दिन महोत्तरीमा एक नवविवाहित महिलाको शंकास्पद मृत्यु भएको छ । प्रहरीका अनुसार मंगलबार राति जलेश्वर नगरपालिका–८ रमौलकी २० वर्षीया रिना देवी रायको मृत्यु भएको हो ।
धनुषाको हंसपुर नगरपालिका–६ सोनिगामा माइत भएकी रिनाको १९ वैशाख रोहनकुमार राउतसँग विवाह भएको थियो । रक्षाबन्धनमामा माइत गएकी उनी मंगलबार नै माइतबाट श्रीमानको घर फर्किएकी थिइन् ।
माइतपक्ष भने दाइजो कम ल्याएको निहुँमा छाेरीकाे हत्या भएकाे दाबी गरेको छ । विवाहपछि दाइजोको निहुँमा छोरीलाई यातना दिने गरेको मृतकका बुबा नवलले गुनासो गरेका छन् ।
घरपरिवारले अचानक बिरामी भएर मृत्यु भएको जानकारी प्रहरी र माइत पक्षलाई दिएको थियो । प्रहरीले रोहनको घरको बरण्डामा रिनाको शव फेला पारेको थियो । महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार रोहनको परिवारले राति अचानक बिरामी भएपछि अस्पताल पुर्याएको पनि प्रहरीलाई बयान दिएको छ ।
मृतक रिनाको शव परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । पोस्टमार्टम पश्चात मृत्युको कारण खुल्ने डिएसपी जयसवारले बताए ।























