
विराटनगर । मोरङको उर्लाबारीमा सञ्चालित कपडा पसलमा शनिबार बिहानका राति आगलागी भएको छ ।
आगलागीमा २५ लाख रूपैयाँभन्दा बढीको क्षति भएको छ । उर्लाबारी नगरपालिका–६ मा भोलामान श्रेष्ठको घरको सटर भाडामा लिएर उर्लाबारी–७ का कूलबहादुर थापाले कपडा पसल सञ्चालन गर्दै आएका थिए । कपडा पसल रहेको बन्द सटरभित्र आगलागी भएको हो ।
थापाले सञ्चालन गरेको सत्कार किड्स एन्ड मोर कपडा पसलमा बिहान १ बजेतिर आगो लागेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार आगोले पसलभित्र रहेका सबै कपडा जलेर ध्वस्त भएको छ । आगलागीमा २५ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
सोही पसलको छेउमा रहेको फलफूल पसलमा पनि आगोले सामान्य क्षति पुर्याएको छ । फूलमाया श्रेष्ठको फलफूल पसलमा २० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
स्थानीय र दमकलको सहयोगमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको इन्सपेक्टर देवेन्द्र दास नेतृत्वको टोली १ घण्टापछि आगो नियन्त्रणमा लिएको थियो । आगलागीको कारण खुल्न सकेको छैन ।
विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । डीएसपी बस्नेतले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।























