
विराटनगर । पाँचथरमा अज्ञात वस्तु विष्फोट हुँदा चार जना बालबालिका घाइते भएका छन् । फालेलुङ गाउँपालिका–५ डाँडागाउँका आइतराज केरुङको घरमा विष्फोट भएको हो ।
केरुङको घरमा ज्ञानबहादुर राईको परिवार बस्दै आएको थियो । घटनामा परेर ज्ञानबहादुरका छोरा १३ वर्षीय पवन राई, स्थानीय दिलिप साँवाका छोरा ११ वर्षीय दिप्सन र छोरी २ वर्षीया प्रिन्सा घाइते भएका छन् । दीपक राईका ७ वर्षीय छोरा सामान्य घाइते भएका छन् । घाइतेमध्ये प्रिन्सा र दिप्सनको अवस्था गम्भीर रहेको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले बताए ।
उनका अनुसार बिहीबार दिउँसो ३ बजेतिर भएको हो । अचानक विष्फोटको ठूलो आवाज आएको थियो । आँगनमा खेलिरहेका बालबालिकाहरु विष्फोटमा परेर घाइते भएको जानकारी खापुङले दिए ।
घाइतेहरुलाई उपचारका लागि फिदिम अस्पताल पठाइएको छ । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट इन्सपेक्टर रुपेश तामाङको नेतृत्वमा टोली परिचालन गरिएको छ ।
डीआईजी खापुङका अनुसार के विष्फोट भएको हो भनेर यकिन छैन । अनुसन्धानपछि मात्रै पत्ता लाग्ने उनले बताए ।























