सीडीओले वार्तामा बोलाएपछि सफारी चालकको प्रदर्शन रोकियो, कोशी लोकमार्ग सुचारु

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १४, शुक्रबार १४:३५

विराटनगर । विराटनगरमा सफारी चालकको प्रदर्शनका कारण अवरुद्ध बनेको कोशी राजमार्ग (लोकमार्ग) सञ्चालनमा आएको छ ।

सफारी चालकले सडकको प्रदर्शन रोकेपछि शुक्रबार दिउँसोदेखि लोकमार्ग सुचारु भएको हो । विराटनगरको बरगाछीस्थित राजमार्गमा सफारी तेर्स्याएर सीटी सफारी चालकले नाराबाजी र प्रदर्शन गर्न थालेपछि सवारी आवागमन प्रभावित बनेको थियो ।

सडकमा सफारी राखेर सडक अवरुद्ध गर्दै प्रदर्शन गर्दा यातायातका साधन चल्न सकेका थिएनन् । त्यसअघि सफारी चालकहरुले विराटनगर महानगरपालिका कार्यालयअगाडि पनि सफारी तेर्स्याएर प्रदर्शन गरेका थिए ।

विराटनगरका मुख्य राजमार्गमा सफारी सञ्चालनमा निषेध गरिएको विरोधमा चालकहरु आन्दोलित बनेका हुन् । उनीहरुले सरकारी निर्णय तत्काल सच्याउनुपर्ने माग राखेका छन् । विराटनगर महानगरपालिका एवं कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको समन्वयमा ट्राफिक प्रहरीले विराटनगरको रानी नाकादेखि ढाटसम्मको लोकमार्गमा सफारी सञ्चालन गर्न बिहीबारदेखि रोक लगाएको थियो ।

त्यसको विरोध गर्दैै आन्दोलनमा उत्रिएका सफारी चालकले राजमार्गमा सफारी चलाउन पाउनुपर्ने माग गरेका थिए । सडकमा गुड्न प्रतिबन्ध लगाउनुभन्दा पनि व्यवस्थित बनाउनेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने आवाज उनीहरुले उठाएका छन् ।

राजमार्ग नै अवरुद्ध पारेर आन्दोलन सुरु भएपछि मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रेमप्रसाद भट्टराईले सफारी चालकहरुलाई वार्तामा बोलाएका छन् । उनले भोलि (शनिबार) बिहान ११ बजेका लागि वार्तामा आउन आग्रह गरेका हुन् ।

सीडीओले वार्तामा बोलाएपछि सफारी चालकको प्रदर्शन रोकिएको छ । तत्काललाई आन्दोलन रोकेर उनीहरु फिर्ता भएसँगै लोकमार्ग नियमित रूपमा सुचारु भएको हो ।

सीडीओ भट्टराईले सफारी चालकहरुलाई वार्तामा बोलाइएको र छलफलबाटै समस्याको समाधान गरिने जानकारी दिए । उनका अनुसार सफारी चालक, ट्राफिक प्रहरी र नगर प्रहरीसहित जिल्ला प्रशासन कार्यालयमा वार्ता हुने छ । ‘वार्ताबाट कानुनबमोजिम र व्यवहारिकतासमेत हेरेर निष्कर्ष निकालिने छ,’ भट्टराईले भने ।

 

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.