
काठमाडौं । विद्युतीय सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)को छपाइ बन्द भएको छ । संघीय सरकारअन्तर्गत रहेको यातायात व्यवस्था विभागले मेसिन र स्मार्ट कार्डको सफ्टवेयरसहितको समस्या देखाउँदै अत्यावश्यक बाहेकका लाइसेन्स छपाइ बन्द गरेको हो ।
पुरानो र थोत्रो मेसिनले सातै वटै प्रदेशको स्मार्ट लाइसेन्स छाप्न नसक्ने भन्दै छपाइ बन्द गर्नुपरेको विभागले जनाएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले भने, ‘संविधानमै लाइसेन्स छपाइको जिम्मा प्रदेश सरकारलाई दिएको छ । विभागमा भएको एउटा पुरानो र थोत्रो मेसिनले सबै प्रदेशको छपाइ भार थेक्न नसक्ने भएको हुँदा छपाइ बन्द भएको हो ।’
विभागको काम त यातायातसम्बन्धी नीति बनाउने, आवश्यक कानुन बनाउन पहल गर्ने र कानुन कार्यान्वयन गराउन सहयोग गर्ने रहेको बताउँदै, महानिर्देशक रिजालले भने, ‘साउन ३२ गते विषयगत समितिको भौतिक मन्त्रालय तथा यातायात मन्त्रालयमा संघ तथा प्रदेशका यातायात मन्त्रालयका प्रतिनिधि, सरोकारवालासहित बसेको बैठकले प्रदेशबाटै लाइसेन्स छाप्नुपर्ने निष्कर्ष निकालेको थियो ।’
विभागले मेसिन र स्मार्ट कार्डको सफ्टवेयरसहितको समस्या देखाएर अत्यावश्यक बाहेकका लाइसेन्स छपाइ बन्द गरेको हो ।
विभागबाट हालसम्म सात वटै प्रदेशअन्तर्गत रहेका ३५ बढी कार्यालयबाट जारी भएका र नवीकरण भएका लाइसेन्स छपाइ गर्दै आएको थियो । परीक्षा पास गरेका २० लाख जना लाइसेन्स छपाइ गर्न बाँकी रहेको बताइएको छ ।























