
लघुवित्तको काम घरदैलोमा पुगेर आफ्ना सदस्यहरूलाई वित्तीय सेवा प्रदान गर्ने हो । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त गरी संस्थाले विपन्न तथा न्यून आय भएका व्यक्ति, खासगरी महिलाहरूलाई सदस्य बनाई तिनीहरूबाट नियमित बचत संकलन गर्छ । सदस्यको आवश्यकता अनुसार सामूहिक जमानीमा ऋण लगानी गर्छ ।
बिहान–बेलुकाको छाक कटाएर जीवनको सारो–गारो अवस्था टार्न रकम जम्मा गरेका हुन्छन् । लघुवित्त सबैको साझा सम्पत्ति पनि हो । तर, पछिल्लो समय यस्ता संस्था आफ्नै सदस्यको निसानामा पर्न थालेका छन् ।
आवश्यक पर्दा ऋण लिनेहरूले नै तिर्नेबेला छल्ने उपाय खोज्दा यो क्षेत्रमा अपराध हुने गरेको छ । यसको उदाहरण मोरङको कानेपोखरी र बेलबारीका दुई घटना हुन् । जहाँ आवश्यक पर्दा ऋण लिएकाहरु नै तिर्ने बेला आक्रमणमा उत्रिए ।
पछिल्लो समय ‘जहाँ पैसा, त्यहाँ अपराध’ भने जस्तो भएको छ । भनाइ नै छ, ‘पैसाको मुख कालो हुन्छ ।’ यो ‘कालो’ भन्ने शब्द नै अपराध हो । जुन पैसाले जन्माएको छ । कानेपोखरी र बेलबारीमा पनि त्यस्तै भयो ।
लघुवित्तले ऋण तिर्न ताकेता गरेपछि कार्यालय पुगेर एक समूहले कागजात र कम्युटरमा आगजनी गर्यो । तोडफोड भयो । यो मारमा परे अभियान लघुवित्त वित्तीय संस्थाको दलेली शाखा र नेशनल लघुवित्त वित्तीय संस्था बेलबारीको बाहुनी शाखा ।
संस्थाबाट लिएको ऋणको किस्ता तिर्न नसक्दा ती सदस्यमा अपराधिक मानिसिकताको विकास भएको देखिन्छ । बेलबारी र कानेपोखरीका घटनाबाट अब सुरक्षा निकाय चनाखो हुनुपर्ने अवस्था आएको देखिन्छ ।
लघुवित्तहरुले ग्रामीण भेगका गाउँगाउँमा पुगेर आमनागरिकलाई वित्तीय सेवा प्रदान गरिरहेका छन् । नेपालमा जतिपनि लघुवित्तहरुले विशेष गरेर विपन्न महिलाहरुलाई जीविकोपार्जनका लागि कार्यक्रमहरु चलाइरहेका छन्, त्यो नै लघुवित्त कार्यक्रम हो ।
विपन्न र सीमान्तकृत वर्गको वित्तीय पहुँच विस्तार र आयआर्जन वृद्धि गरी मुलुकको समृद्धिमा योगदान गर्ने मुख्य उद्देश्य लघुवित्तको हो । संस्थाले कृषि तथा लघु उद्यम व्यवसाय सञ्चालन गर्न बिनाधितो लघु कर्जा प्रवाह गर्दै आएका छन् । तर, लघुवित्तमा बेथिति बढेको भनेर बारम्बार प्रश्न पनि उठिरहेको छ । पवित्र उद्देश्यले स्थापना भएको लघुवित्तलाई बदनाम गर्ने र त्यसबाट आफ्नो ‘दुनो’ सोझ्याउनेहरु पनि पर्याप्त मात्रामा भेटिन्छन् ।
लघुवित्तमाथि भइरहेको बारम्बारको प्रहारले संस्थाको मर्म अनुसारको परिणाम प्राप्त हुन नसकिरहेको जगजाहेरै छ । लघुवित्तबाट ऋण लिएर तिर्न नसक्नेहरु पनि छन् । सर्वसाधारण समस्यामा परेको पनि पाइन्छ । तर, तिनीहरुले ‘यति गर्दा त ऋण तिर्न पर्दैन’ होलाभन्ने सोचेरै कानुन हातमा लिँदै संस्थामाथि आगजनी र आक्रमण गर्ने गरेका छन् । यो अपराधिक मानसिकताको उपज हो ।
ठूला बैंकबाट ऋण लिन नसक्नेहरुले गाउँका लघुवित्तको सहारा लिनुपर्ने हुन्छ । आफूलाई ऋण दिएर तत्कालको समस्या टारिदिने त्यस्ता संस्थाको संरक्षण गर्नुपर्ने हो । तर, किन आज लघुवित्तमाथि हमला भइरहेको छ भनेर प्रश्न उठ्न थालेको छ । ‘न्यून आय भएकाको समस्या त लघुवित्तले टारिदियो तर, तिनै मान्छेहरु आज किन लघुवित्तप्रति निक्कै आक्रामक भए’ भनेर खोजी हुनुपर्ने बेला आएको छ ।
लघुवित्तका कारण सर्वसाधारण मर्कामा पर्नु र लघुवित्तलाई ऋणिले निसाना बनाउनु दुवै दुःखद् हुन् । यस्ता समस्याको बेलैमा समाधान खोज्न जरुरी छ । नत्र यस्ता गतिविधिले आर्थिक अपराध र अराजकता बढ्ने देखिन्छ ।
२२ हजार बढीलाई प्रत्यक्ष र लाखौंलाई परोक्ष रोजगारी प्रदान गरिरहेका लघुवित्तको संरक्षण एवं सुरक्षाको दायित्व राज्यको हो । सदस्यलाई वित्तीय सेवाका अतिरिक्त वित्तीय साक्षरता, व्यावसायिक/सीपमूलक तालिम, सामाजिक क्रियाकलाप र प्राकृतिक तथा अन्य प्रकोप उद्धारजस्ता सामाजिक/आर्थिक उत्थानका गैरवित्तीय सेवाहरू पनि लघुवित्तबाट प्रवाह भइरहेको छ ।
जसले विपन्न वर्गको आयवृद्धि भएर मुलुकमा गरिबी घटाउन विशेष योगदान गरेको देखिन्छ । केही समयअघि गरिएको अध्ययन (नेपालमा लघुवित्त संस्थाहरूको प्रभाव अध्ययन)ले पनि देशको आर्थिक र सामाजिक क्षेत्रमा लघुवित्तले महत्वपूर्ण योगदान दिइरहेको स्पष्ट पारेको थियो ।
अर्बौं खर्च गरेरसमेत गर्न नसक्ने काम यी संस्थाले सहज रूपमा गरी आर्थिक/सामाजिक क्षेत्रमा समेत ठूलो योगदान पुर्याएको देखिन्छ । तर, लघुवित्तभित्र केही विकृति रहेको कुरालाई भने नकार्न सकिँदैन ।
विकृति र समस्याकै आधारमा लघुवित्तले समाजमा गरेको योगदानलाई भने भुल्न हुँदैन । विपन्न वर्गको उत्थानमा सहयोग गरिरहेको लघुवित्तविरुद्धका गतिविधिमा केही स्वार्थ समूहले गरिब र न्यून आय भएकालाई उक्साइरहेको पाइन्छ । त्यस्तो स्वार्थ समूहलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्नुपर्छ ।
जनताको घरदैलोमा वित्तीय सेवा दिइरहेको लघुवित्तबाट लिएको ऋण नतिर्ने अभियान चलाइनु वा मिहाना हुनुपर्छ भनेर आन्दोलन गर्नु वित्तीय अराजकता हो । किनभने ऋण लिएपछि तिर्नैपर्छ । तर, ऋण लिँदा ऋणिलाई मर्कामा पारिएको रहेछ भने चैं लघुवित्तमाथि पनि कारबाही हुनुपर्छ ।
लघुवित्तलाई देखाएर सिर्जना गर्न खोजिएको समस्यालाई तत्काल समाधान गर्नुपर्छ । सुरुमा ऋण लिने र तिर्ने बेलामा विरोध गर्ने एवं आक्रमणमा उत्रने गतिविधि कानुनविपरीत हो । कतिपयले लघुवित्त नबुझेर पनि समस्या भोगिरहेको देखिन्छ ।
वास्तविक समस्याको पहिचान गरेर तत्काल समाधान गर्दै सम्भावित अपराधिक घटना हुन नदिन राज्य सक्रिय हुनुपर्छ । अहिले गाउँगाउँमा रहेका लघुवित्तका कर्मचारीले असुरक्षित महसुस गरिरहेका छन् ।
सर्वसाधारणले भोगिरहेको पीडाको सुनुवाइ गर्दै लघुवित्त र त्यहाँ कार्यरत कर्मचारीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ । यसतर्फ सरकारको ज्यान जान आवश्यक छ ।



















