
विराटनगर । ‘मिटरब्याज’ (अनुचित लेनदेन) सम्बन्धी विवादमा मुछिएपछि मोरङको लेटाङ नगरपालिकाका पूर्ववडाध्यक्ष रामकुमार श्रेष्ठ फरार भएका छन् ।
रामकुमार लेटाङ नगरपालिका–४ का पूर्ववडाध्यक्ष हुन् । उनीविरुद्ध ‘हेलो सरकार’मा उजुरी परेको थियो । त्यही उजुरी जिल्ला प्रशासन कार्यालय मोरङ हुँदै प्रहरीमा पुगेको छ । प्रहरीले अनुसन्धानको तयारी गरिरहेका बेला रामकुमार फरार भएका हुन् ।
उनी लामो समयदेखि ‘मिटरब्याज’को धन्दामा संलग्न रहेको स्थानीयले बताए । ‘‘मिटरब्याज’मा पैसा लगानी गरेर सर्वसाधारणको उठिबास लगाउने धन्दा पूर्ववडाध्यक्षले चलाइरहेका थिए,’ एक स्थानीयले भने, ‘अहिले उजुरी परेर अनुसन्धान हुने भएपछि फरार भएछन् ।’
अत्यधिक चर्को ब्याजदरमा अनौपचारिक रूपमा ऋण दिने अवैध प्रथा अंगालेका रामकुमार २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित भएका पूर्ववडाध्यक्ष हुन् । पछिल्लो समय हर्कराज राई (हर्क साम्पाङ) नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेपछि उनलाई एमालेले कारबाही गरेको छ ।
एमालेले कारबाही गरेसँगै उनको पद गुमेको हो । उनलाई केही समयअघि पार्टी अध्यक्ष हर्क साम्पाङले नै श्रम संस्कृतिमा प्रवेश गराएका हुन् । स्रोतका अनुसार रामकुमारलाई २०८४ सालको स्थानीय तह निर्वाचनमा श्रम संस्कृति पार्टीबाट लेटाङ नगरपालिकामा मेयरको उम्मेदवार बनाउने आन्तरिक समझदारी छ । जनप्रतिनिधि हुँदा ऋणीबाट अत्यधिक ब्याज असुल्ने, जालसाजीपूर्ण कागजात गराउने, सम्पत्ति हडप्ने, धम्की दिने र सामाजिक तथा आर्थिक शोषण गर्ने जस्ता कार्य गरेको आरोप रामकुमारमाथि लागेको छ ।
‘मिटरब्याज’मा पैसा लगानी गर्दै ऋणी (पीडित)लाई ऋणको दुष्चक्रमा फसाई आर्थिक, मानसिक र सामाजिक रूपमा गम्भीर क्षति पुर्याउने अवैध धन्दा लामो समयदेखि रामकुमारले चलाइरहेको स्थानीय बताउँछन् । प्रहरीले पनि रामकुमारविरुद्ध उजुरी परेको उल्लेख गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङका इन्स्पेक्टर सागर साह नेतृत्वको टोलीले उनको खोजी गरिरहेको छ ।
तर, पक्राउ नपरेका कारण पूर्ववडाध्यक्ष रामकुमारमाथि प्रहरीले अनुसन्धान अघि बढाउन सकेको छैन । ‘हामीले केही दिनअघि रामकुमारलाई प्रहरी कार्यालयमा आउन आग्रह गरेका थियौं । तर, प्रहरीले बोलाउनसाथ आफूमाथि अनुसन्धान हुने बुझेर उनी फरार भएछन् । निक्कै दिनदेखि खोजी गरिरहेको भए पनि फेला पार्न सकिएको छैन । मोबाइल पनि अफ छ,’ प्रहरी स्रोतले भन्यो ।
परिवारका सदस्य एवं आफन्तले भने रामकुमार विशेष कार्यक्रमका लागि काठमाडौं गएको र केही दिनभित्र फर्किएर आउने प्रहरीलाई बताएका छन् । तर, आफूमाथि ‘मिटरब्याज’मा अनुसन्धान हुने सुइँको पाएर भागेका रामकुमार त्यति सजिलै फर्किएर आउने विश्वास प्रहरीलाई छैन ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले रामकुमार स्वयंसँग केही कुरा बुझ्नुपर्ने अवस्था रहेको बताए । ‘पक्राउ गरेर अनुसन्धान गरिहाल्ने भन्ने कुरा हैन । रामकुमारमाथि लागेको आरोप के रहेछ भनेर प्रहरीले बुझ्न खोजेको मात्रै हो । अरु त्यस्तो केही पनि छैन,’ कटवालले भने ।
रामकुमारकी पत्नी विष्णु तामाङ श्रेष्ठले गत सोमबारदेखि आफूसँग पनि सम्पर्क नभएको बताइन् । ‘दमक जान्छु भनेर घरबाट हिँड्नु भएको हो । हिँडेदेखि मोबाइल अफ छ । फर्किएर आउनु हुन्छ वा सम्पर्क गर्नु हुन्छ कि भनेर हामी पर्खिरहेका छौं,’ उनले भनिन्, ‘घरबाट बिदा मागेर हिँडेदेखि कुरा हुन पाएको छैन । अब एक–दुई दिन पखिएर बाटो हेर्छौं । त्यसपछि पनि सम्पर्क भएन भने खोजीका लागि प्रक्रिया अघि बढाउनुपर्छ होला ।’
विष्णुले पति रामकुमारको ‘मिटरब्याज’ कारोबारका बारेमा आफूलाई केही थाहा नभएको बताइन् । ‘यदि त्यस्तो हो भने प्रमाण पनि हुनुपर्छ होला । कसैले आरोप लगाएको भरमा मुद्दा चलाउन मिल्दैन भन्ने लाग्छ । प्रमाणबिना मान्छेलाई कसरी कारबाही हुन्छ ? के रहेछ भनेर हामी पनि कुरा बुझ्दैछौं । उहाँ (रामकुमार) भाग्नु भएको हैन । एक–दुई दिनभित्रमा सम्पर्कमा आउनु हुन्छ भन्ने आशा छ,’ उनी भन्छिन् ।



















