मोरङको लेटाङमा महिलाको मृत्यु, फार्मेसीअगाडि शव राखेर प्रदर्शन

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १८, मंगलबार १६:५०

विराटनगर । मोरङको लेटाङ नगरपालिका–३ मा रहेको दीर्घायु लेटाङ फार्मेसीमा उपचारका लागि ल्याइएकी महिलाको मंगलबार दिउँसो मृत्यु भएको छ ।

लेटाङ–७ वाराङ्की ३३ वर्षीया गोमा लिम्बूलाई बिरामी परेर उपचारका लागि दिउँसो १ः३० बजेतिर फार्मेसीमा ल्याइएको थियो । फार्मेसीले अवस्था गम्भीर रहेको भनेर थप उपचारका लागि विराटनगर रेफर गरेको थियो । विराटनगरतर्फ ल्याउने क्रममा बाटैमा लिम्बूको मृत्यु भएको हो ।

त्यसपछि शव फर्काएर आफन्तले फार्मेसी भएकै ठाउँमा पुर्याएका छन् । फार्मेसीअगाडि शव राखेर प्रदर्शन सुरु गरेका हुन् । आफन्त र स्थानीयले फार्मेसीको लापरबाहीले महिलाको मृत्यु भएको आरोप लगाउँदै नाराबाजी गरिरहेका छन् । फार्मेसीले लगाइदिएको सुईका कारण बिरामीको मृत्यु भएको आरोप उनीहरुले लगाएका छन् ।

फार्मेसी आसपासमा अहिले करिब सय जनाजति स्थानीय भेलाजम्मा भएका छन् । फार्मेसीको लापरबाहीले मृत्यु भएको आरोप लगाउँदै उनीले शव जिम्मा नलिने अडान राखेका छन् । मृतक गोमाका पति आइतबहादुर लिम्बू वैदेशिक रोजगारीमा रहेको स्थानीयले बताएका छन् ।

फार्मेसीका संचालक प्रकाश श्रेष्ठले भने प्राथमिक उपचार पनि गर्न नपाइकन बिरामीलाई रेफर गरिएको जानकारी दिए । ‘बिरामीको अवस्था गम्भीर थियो । लगाउन खोज्दा क्यानोलासमेत गएन । रगत पनि आएन । क्यानोला लगाउने क्रममा बिरामी बेहोस भएर ढलिन्,’ उनले भने, ‘उपचार सम्भव नहुने देखेर तत्काल रेफर गरियो । बिरामीको मुटुको धड्कन अत्यधिक र रक्तचाप न्यून थियो । ज्वरो पनि आइरहेको थियो ।’

एकैपटक स्वास्थ्यमा धेरै समस्या देखिएको र त्यहाँमाथि बिरामी बेहोस भएपछि प्राथमिक उपचार पनि नगराइकन तत्काल एम्बुलेन्स खोजेर विराटनगरतर्फ पठाइएको श्रेष्ठले बताए । उनका अनुसार बिरामीलाई डा. रनधीर चौरसियाले चेकजाँच गरेका थिए । श्रेष्ठ भने लेटाङ नगर अस्पतालमा कार्यरत सिनियर अहेब हुन् ।

महिलाको मृत्यु भएको विषयलाई लिएर विवाद उत्पन्न भएपछि लेटाङमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । इलाका प्रहरी कार्यालयहरु लेटाङ, बेलबारी, पथरी, उर्लाबारीलगायतबाट प्रहरी परिचालन गरिएको हो । सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले घटनास्थल वरपरको सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए । सम्भावित घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको उनको भनाइ छ । प्रहरीले आक्रोसित भीडलाई सम्झाइबुझाइ गरिरहेको छ ।

 

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.