
पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ डाँडागाउँमा बम विस्फोट हुँदा घाइते भएका २ जना बालकलाई थप उपचारका लागि बुधबार बिहान काठमाडौं लगिएको छ ।
विस्फोटमा परेर घाइते भएका पवन राई र दिप्सन राईलाई कीर्तिपुर बर्न अस्पतालमा थप उपचारका लागि लैजानुपर्ने अवस्था आएको हो । उपचाररत अवस्थामै उनीहरुलाई अभिभावकले घर फर्काएर लगेका थिए ।
उपचार पूरा नभइकन घर फर्काएर लगिएकामध्ये पवनको घाउमा संक्रमण देखिन थालेको थियो । चिकित्सकको सल्लाहबमोजिम दुवै जनालाई कीर्तिपुर बर्न अस्पतालमा उपचार गर्ने गरी लगिएको हो । उनीहरुलाई विराटनगरस्थित कोशी अस्पतालमा थप उपचारका लागि ल्याइएको थियो ।
तर, उपचारको प्रक्रिया पूरा नभइकन अभिभावकले घर फर्काएर लगेका थिए । काठमाडौंमा घाइतेको उपचारको व्यवस्था बालबालिकाको क्षेत्रमा कार्यरत संस्था सीबीन नेपालले गर्ने छ । कीर्तिपुर बर्न अस्पतालसम्म पुग्ने खर्च फालेलुङ गाउँपालिकाले बेहोर्ने छ ।
फालेलुङ–५ घर भएका माओवादी कार्यकर्ता आइतराज केरुङको घरको आँगनमा गत बिहीबार ‘हेन्ड सकेट’ विस्फोट भएको थियो । विस्फोटमा ११ वर्षीय दिप्सन सावाँ र उनकी बहिनी २ वर्षीया प्रिन्साको मृत्यु भएको थियो । घटनामा पवन र दिप्सन राई घाइते भएका थिए ।























