मोरङ कारागारका कैदीको कोशी अस्पतालमा मृत्यु, ५ जिल्लामा चोरी मुद्दा विचाराधीन

Share this
755shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २३, आइतबार १३:५९

विराटनगर । जिल्ला कारागार मोरङका १ जना कैदीको विराटनगरस्थित कोशी अस्पतालमा आइतबार मृत्यु भएको छ ।

मोरङको बेलबारी नगरपालिका–४ घर भएका ३४ वर्षीय मनीकुमार तामाङको उपचाररत अवस्थामै मृत्यु भएको कारागारका जेलर चेतराज बरालले बताए । उनका अनुसार बिरामी परेका तामाङलाई उपचारका लागि भदौ २० गते साँझ कोशी अस्पताल भर्ना गरिएको थियो ।

तामाङलाई खुट्टा सुन्निने र मुटु सम्बन्धी पुरानै समस्या रहेको उनले बताए । उपचारका क्रममा बिहान ११ः४५ बजेतिर मृत्यु भएको जानकारी बरालले दिए । उनका अनुसार विराटनगरमा सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं लैजाने तयारी हुँदै थियो ।

तर, काठमाडौं पठाउन नपाउँदै मृत्यु भएको उनले बताए । परिवारका सदस्य सम्पर्कमा आइसकेका कारण शव जिम्मा लगाउने तयारी भइरहेको जानकारी बरालले दिए ।

मोटरसाइकल चोरीमा संलग्न तामाङविरुद्ध विभिन्न ५ वटा अदालतमा चोरी मुद्दा दर्ता भएको पाइएको छ । सबैजसो मुद्दा विचाराधीन रहेका थिए । मोरङसहित झापा, सुनसरी, इलाम र धनकुटामा मुद्दा रहेको बरालले बताए ।

उनका अनुसार मोरङमा तामाङविरुद्ध चोरी कसुरमा २ वटा मुद्दा चलेका छन् । एउटा मुद्दामा मोरङ अदालतले ४ महिना कैद र १५ हजार रूपैयाँ जरिवानाको फैसला गरेको थियो ।

अर्को मुद्दामा १ लाख रूपैयाँ धरौटी माग गरेको थियो । धरौटीबापतको रकम बुझाउन नसकेपछि पुर्पक्षका लागि कारागार चलान गर्न अदालतले आदेश दिएको बरालको भनाइ छ । उनका अनुसार तामाङ २०८० माघ २१ गतेदेखि मोरङ कारागारमा थिए ।

चोरी मुद्दामै उनीसँग धनकुटा अदालतबाट धरौटीबापत ३ लाख ५० हजार र सुनसरी अदालतबाट २ लाख रूपैयाँ माग भएको थियो । दुवै अदालतले मागेको धरौटी उनले तिर्न सकेनन् । धरौटी रकम जम्मा गर्न नसकेपछि पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको जेलर बरालको भनाइ छ ।

तामाङविरुद्ध झापा र इलाम अदालतमा पनि चोरी मुद्दा रहेको बरालले बताए । उनका अनुसार दुवै अदालतले उपस्थित गराउन आदेश दिइसकेका थिए ।

जिल्ला कारागार मोरङमा क्षमताभन्दा ३ गुणा बढी कैदीबन्दी राखिएका छन् । जसका कारण कैदीबन्दीको दैनिकी निक्कै कष्टकर बनिरहेको छ ।

कारागारमा हाल ४ नाबालक र ९७ महिलासहित १ हजार ५९ जना कैदीबन्दी रहेको जेलर बरालले बताए । क्षमताभन्दा बढी राख्नु परेका कारण कैदीबन्दीलाई निक्कै समस्या हुने गरेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.