
विराटनगर । मोरङको सुनवर्षीमा चट्याङले लागेर आइतबार दिउँसो १ नाबालकको मृत्यु भएको छ । नाबालिका घाइते भएकी छन् ।
चट्याङले लागेर सुनवर्षी नगरपालिका–९ मुस्लिम टोलका हमिद आलमका छोरा ११ वर्षीय सोफियन आलम मियाँको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार चट्याङले राजाबुल आलमकी छोरी ८ वर्षीया नजारा खातुन घाइते भएकी छन् ।
राजाबुलको घरपछाडि रहेको कटहरको रुखमुनि खेलिरहेका बेला दिउँसो २ बजेतिर चट्याङ परेर बालबालिका घाइते भएका थिए । चट्याङले लागेर सोफियन बेहोस भएका थिए । उद्धार गरेर रंगेली अस्पताल ल्याइएका उनको उपचारका क्रममा दिउँसो २ः४५ बजेतिर मृत्यु भएको डीएसपी बस्नेतले बताए ।
घाइते नजाराको रंगेली अस्पतालमै उपचार भइरहेको छ । अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।























