उपभोक्ताले घेराउ गरे इटहरी उपमहानगरपालिका

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २६, बुधबार १४:०१

इटहरी । उपभोक्ताले बुधबार सुनसरीको इटहरी उपमहानगरपालिका घेराउ गरेका छन् ।

नगरस्तरीय र वडास्तरीय योजनाको भुक्तानी नपाएको भन्दै उपभोक्ता समितिहरूले इटहरी घेराउ गरेका हुन् । आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न भएका योजनाको भुक्तानी नपाएपछि उपभोक्ताहरु आन्दोलित छन् । त्यस क्रममा उपमहानगर घेराउ गरेका हुन् ।

उपमहानगरले उपभोक्ता समितिलाई २० करोड रुपैयाँ भन्दा बढी भुक्तानी गर्न बाँकी रहेको छ । बजेट अभावको कारण देखाउँदै उपमहानगरले रकम निकासा गरेको छैन । सम्पूर्ण प्रक्रिया पूरा गर्दा पनि उपमहानगरले गठन गरेका उपभोक्ता समितिहरूले भुक्तानी पाएका छैनन् ।

नगरस्तरीय र वडास्तरीय योजनाको काम सम्पन्न गर्नका लागि उपभोक्ता समितिहरूले विभिन्न ठाउँमा उधारोसमेत लिएका थिए । संघर्ष समितिका संयोजक दीपक श्रेष्ठका अनुसार निर्माण सामाग्रीसमेत उधारोमा प्रयोग गरिएको भएपनि उप महानगरले भुक्तानी नदिँदा उपभोक्ता समितिमा बसेका व्यक्तिहरू दोहोरो मारमा परेका छन् । उनले भुक्तानी लिन उपमहानगरपालिका धाउँदा–धाउँदा आजित भएपछि आन्दोलन सुरु गर्नु परेको बताए ।

उपभोक्ताहरू ‘प्लेकार्ड’सहित घेराउ गर्न पुगेपछि सुरक्षाकर्मीले रोकेका थिए । ठूलो संख्इामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी परिचालन गरिएको छ ।

मेयर हेमकर्ण पौडेलले केही दिनअघि सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै असोजबाट उपभोक्ताहरूको भुक्तानी दिने बताएका थिए । इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले खाता खुली नसकेकाले भुक्तानी रोकिएको बताए । उनले सम्पन्न भइसकेको योजनाको भुक्तानी मात्रै २० करोड भन्दामाथि रहेको उल्ले गरे ।

‘हामी यस विषयमा छलफल गरेर टुंग्याउने प्रक्रियामा छौं । चाँडै समस्या समाधान गर्छौं,’ मेहताले भने । उनले संघीय सरकारले अनुदान कटौती गरेको र आन्तरिक श्रोत पनि अनुमान गरेभन्दा कम उठेकाले अघिल्लो आर्थिक वर्षको दायित्व सरेर आएको जानकारी दिए । अनुमान गरेभन्दा राजस्व संकलन कम भएकाले भुक्तानीमा समस्या भइरहेको मेहताको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.