
विराटनगर । मोरङको लेटाङ नगरपालिका–३ स्थित बाँस झ्याङमा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यु भएको छ ।
लेटाङ–३ त्रिशूली चोककी ४५ वर्षीया इन्द्रकमला राई घरदेखि ५ सय मिटरजति पश्चिममा रहेको बाँस झ्याङमा बिहीबार दिउँसो १२ बजेतिर बेहोस अवस्थामा फेला परेकी थिइन् । लडिरहेको अचेत अवस्थामा भेटिएकी उनको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लेटाङतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
उनका अनुसार महिला खेतमा काम गर्नका लागि भनेर घरबाट गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । खेतकै बाँस झ्याङमा अचेत भेटेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।
महिलाको मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाको अनुसन्धान भइरहेको जानकारी बस्नेतले दिए । शव प्राथमिक स्वास्थ्य केन्द्र लेटाङमै रहेको छ ।























