
विराटनगर । लुम्बिनी र सुदूरपश्चिममा तीन दिनदेखि लगातार परिरहेको वर्षा रोकिएको छ । गएरातिदेखि पश्चिम नेपालमा लगातारको वर्षा रोकिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिममा वर्षा रोकिए पनि आज बागमतीसहित पूर्वी नेपालमा वर्षाको जोखिम छ ।
आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसअघि बिहीबारदेखि लुम्बिनी र सुदूरपश्चिमलगायत पश्चिम भेगमा ठूलो पानी परेको थियो । बाढी र डुबानले कैलाली, कन्चनुर र बर्दियामा ठूलो क्षति गरेको थियो । बाढी र डुबानका कारण तीन जिल्लामा ३०० परिवार विस्थापित भएका थिए ।























