मिक्लाजुङमा कोही नभएको घरमा आगलागी, २० लाखको क्षति

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १, मंगलबार १२:४९

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका–५ बेलटारस्थित कोही नभएको घरमा आगलागी भएको छ । आगलागीबाट २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार चन्द्रमणि खतिवडाको घरमा सोमबार दिउँसो १ः५० बजेतिर आगलागी भएको हो । खतिवडाको काठले बनेको र कर्कटपाताको छानो भएको २ तले घरमा धान कुट्ने मिलसमेत थियो ।

आगोले घर र मिल पूर्णरूपले ध्वस्त भएको डीएसपी बस्नेतको भनाइ छ । घरभित्र रहेका सबै सामानसहित ९० हजार नगद, डेढ तोला सुन, ४० मन धान आगोले जलेको जानकारी उनले दिए ।

प्रहरीका अनुसार घरमा चन्द्रमणिका कान्छो छोरा र बुहारी मात्रै बस्दै आएका थिए । छोरा सुवास २ दिनदेखि विराटनगरमा रहेको र बुहारी पनि माइती गएका बेला घरमा अचानक आगलागी भएको जानकारी प्रहरीले दिएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

दमक, पथरीशनिश्चरे र उर्लाबारी नगरपालिकाबाट आएको दमल तथा स्थानीयको सहयोगमा प्रहरीले १ घण्टापछि आगो नियन्त्रणमा लिएको थियो । घटनामा मानवीय र चौपाया क्षति भने भएन । आगलागीमा २० लाख बराबरको क्षति भएको जानकारी बस्नेतले दिए ।

‘घरमा कोही रहेनछन् । ताला लागेको घरमा कसरी आगलागी हुन पुग्योभन्ने यकिन छैन,’ उनी भन्छन्, ‘घटनाको अनुसन्धान सुरु गरिएको छ । अनुसन्धानपछि मात्रै सबै कुरा प्रष्ट हुन्छ ।’ घरमा आगलागी भएको खबर सुनेपछि सुवास पनि पुगेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.