
इटहरी । इटहरी उपमहानगरपालिकाले आजदेखि ४ वटा विद्युतीय नगर बस सञ्चालनमा ल्याएको छ ।
नगरवासीको सुविधालाई ध्यानमा राखेर इटहरीले नगर बसको सेवा सुरु गरेको हो । नगरको चारैतर्फबाट चल्ने गरी रुट बनाएर सेवा सुरु गरेको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए ।
उनका अनुसार इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायात नियमित रूपमा उपलब्ध नहुने भएकाले नगरवासीको यात्रालाई सहज सुविधाजनक बनाउनका लागि नगर बसको सेवा सुरु गरिएको हो । सेवा सुरु गरेको २ दिन दिन (मंगलबार र बुधबार)बसमा शुल्क लाग्ने छैन ।
इटहरीमा सेवा सुरु गरेको नगर बस अत्याधुनिक र सुविधासम्पन्न छ । सबैले सहज रुपमा यस बसमा यात्रा गर्न सक्छन् । अपांगमैत्री बस भएकाले पनि सबैले सेवा लिन सहज हुन्छ भनिएको हो, प्रमुख पौडेलले भने ।
नगर बस सञ्चालन हुने रुट यसरी तयार पारिएको छ । धरान–विराटनगर सडकमा तरहरादेखि वडा नं. १३ को अरिहन्त मल्टिफाइवर्ससम्म, पूर्व–पश्चिम सडकमा बुढी खोला (मिलन चोक)देखि लगुना चोक बिजुली अफिससम्म, साथी फ्यूल, वडा नं. १० टावर हुँदै वडा नं. ११ खेटीपुल, नहरको बाटो हुँदै इटहरी, इटहरीबाट तरहरा, भवानीपुर, कान्छी चोक, पकली हुँदै इटहरीसम्म सञ्चालन हुनेछ ।
यस्तै, इटहरीबाट तालतलैया, त्रिभूवन चोक, देवीस्थान हुँदै पुनः त्रिभूवन चोक, हवाई चोक, आँपगाछी हुँदै इटहरी, इटहरीबाट लविपुर, वडा नं. १६, वडा नं. १५ को चाँदवेला सिमाना हुँदै वडा नं. १७ कार्यालय र कान्छी चोक हुँदै इटहरी बस सञ्चालन हुनेछ ।
नगर बसको टिकट शुल्क प्रति व्यक्ति २० रुपैयाँ लाग्ने उपमहानगरपालिकाले जनाएको छ ।
बिहान ७ देखि ११ बजेसम्म र अपराह्न २ देखि साँझ ७ बजेसम्म बस चल्ने छ ।
गत साउनमा ६ करोड ३६ लाख ८६ हजारमा बस खरिद गरिएको हो ।























