
संखुवासभा । संखुवासभाको मकालुमा बुधबार बिहान ट्याक्टर दुर्घटना हुँदा चालक र सह–चालकको घटनास्थलमै मृत्यु भएको छ ।
खाँदबारी–किमाथांका सडकखण्डअन्तर्गत मकालु गाउँपालिका–३ समटारमा प्रदेश १–०२–००३ त १४३७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । संखुवासभाको वरुण दोभानबाट सदरमुकाम खाँदबारी आउने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालक खाँदबारी नगरपालिका–८ का १९ वर्षीय किरण श्रेष्ठ र सह–चालक १७ वर्षीय उदित श्रेष्ठको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रहरीका अनुसार ट्याक्टरमा चालक र सह–चालक मात्रै सवार थिए । खाली ट्याक्टर भिरबाट करिब ३ सय मिटर तल खसेको थियो । प्रहरीले मृतकको शव निकालेर पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याउने तयारी गरिरहेको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।























