
विराटनगर । विजया दशमी (दसैं)को टीकाको उत्तम साइत बिहान ११ः३६ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।
नेपाल पञ्चांग निर्णायक विकास समितिले दसैंको शुभ साइतको तालिका सार्वजनिक गरेको छ । असोज २६ गते टीकाको शुभ साइत बिहान ११ः३६ मा रहेको छ भने देवी विसर्जनको साइत बिहान ८ः३३ बजे रहेको समितिले जनाएको छ ।
विजया दशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नुपर्ने बताइएको छ । यस वर्षको नवरात्र अर्थात् दसैं यही असोज १७ गते बिहीबारदेखि सुरु हुँदैछ ।
त्यस दिन बिहान ९ः१६ बजे घटस्थापनाको साइत छ ।
असोज १८ गते शुक्रबार झन्डा फेर्ने (पश्चिम मोहडा) ९ः१४ बजे, असोज २२ गते मंगलबार पचलीभैरव यात्रा, असोज २४ गते बिहीबार फूलपाती र श्री तुलजाभवानी यात्रा बिहान ७ः११ बजे र स्थिरासन बिहान ८ः४३ बजे साइत रहेको समितिले जनाएको छ ।
कोजाग्रत पूर्णिमा असोज ३० गते बुधबार मनाएसँगै यस वर्षको दशैं समापन हुनेछ ।
























