
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरको मुख्य समस्या ट्राफिक व्यवस्थापन हो । सवारीसाधनको बढ्दो चापसँगै ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनिरहेको छ ।
विराटनगरमा उचित पार्किङस्थलको अभाव छ । जथाभावी र सडकमा सवारीसाधन पार्किङ गर्नुपर्ने अवस्था छ । त्यहाँमाथि नियम उल्लंघन गर्ने क्रम बढ्दो छ । ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गर्ने गरे पनि नियम मिच्ने चालकको कमी छैन ।
नियम उल्लंघनका घटना रोक्न र दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले जनचेतनामूलक कार्यक्रम पनि गरिरहेको हुन्छ । सवारी आवागमनलाई व्यवस्थित बनाउन विराटनगरमा ट्राफिक लाइट जडान गरेर संचालनमा ल्याइएको छ । विराटनगरका केही स्थानमा ट्राफिक लाइट जडानको काम धमाधम भइरहेको छ ।
मोरङ ट्राफिक प्रमुख इन्सपेक्टर (प्रहरी निरीक्षक) राजन लम्सालले ट्राफिक व्यवस्थापन आफ्नो प्राथमिकतामा रहेको बताए । दुर्घटना न्यूनीकरण, छापा चौपाया व्यवस्थापन र ट्राफिक व्यवस्थापनलाई कार्ययोजनाभित्र राखेर काम गर्ने प्रतिबद्धता उनले जनाएका छन् ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख बनेर २ साताअघि विराटनगर आएका लम्सालले सोमबार संचारकर्मीसँग परिचयात्मक कार्यक्रमको आयोजना गर्दै ट्राफिक व्यवस्थापनमा देखिएका चुनौती चिरेर अघि बढ्ने बताएका हुन् । ‘विराटनगरमा बढ्दो सवारी चापकका कारण धेरै समस्याहरु देखा परेको पाइयो,’ उनी भन्छन्, ‘सबै पक्षसँग समन्वय गरेर ट्राफिक व्यवस्थापनमा ध्यान दिन्छु ।’
ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवामा सबैको पहुँच विस्तारमा आफू सक्रिय रहेको उनले बताए । ट्राफिक व्यवस्थापन, दुर्घटना न्यूनीकरणदेखि जनचेतनामूलक कार्यक्रमका लागि सबै पक्षको साथ र सहयोग आवश्यक पर्ने लम्साल बताउँछन् ।
‘ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त बनाउन हामी सक्रिय रहन्छौं । यसमा सबैको सहयोग आवश्यक छ,’ उनले भने, ‘ट्राफिक व्यवस्थापनका लागि विराटनगरको मुख्य चोकहरूमा ट्राफिक लाइट जडानको काम धामधम भइरहेको छ । ट्राफिक सक्रियता बढाइएको छ ।’
नजिकिँदो चाडपर्वमा हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा यात्रुलाई पर्न सक्ने विभिन्न समस्यालाई सम्बोधन गरी सहज यात्राको प्रबन्ध मिलाउनेतर्फ ट्राफिकले ध्यान दिने लम्सालको भनाइ छ । उनका अनुसार योजनाको प्रभावकारी व्यवस्थापन गर्न थप जनशक्ति परिचालन, चेकजाँचमा कडाइ र नागरिक सहायता कक्षा स्थापना अहिलेको प्राथमिकता हो ।
ट्राफिक नियमको पूर्ण पालना गराउने कुरामा आफू प्रतिबद्ध रहेको उनले बताए । ‘ट्राफिक व्यवस्थापनमा केही गर्न सकिए सबैलाई सहज हुन्छ,’ इन्सपेक्टर लम्साल भन्छन्, ‘दुर्घटना न्यूनीकरणमा सहयोग पुग्छ ।’
सडकमा गुड्ने सीटी सफारी, मोटरसाइकललगायतका सवारीसाधनले सबैभन्दा बढी नियम उल्लंघन गरिरहेको देखिन्छ । सफारीले नियम नमान्ने गरेको लम्सालले बताए । ‘अधिकांश सफारी चालकसँग कागजपत्र हुँदैन । उनीहरु नै नियममा बस्न मान्दैनन् । कानुनको उल्लंघन गर्छन्,’ उनले भने ।























