
झापा । झापाको दमकमा सीटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर मंगलबार बिहान १ जनाको मृत्यु भएको छ ।
इलामको माई नगरपालिका–५ घर भइ दमक नगरपालिका–८ मा डेरा गरेर बस्ने अन्दाजी २६ वर्षीय कमल बुर्जामगरको मृत्यु भएको झापा प्रहरीले जनाएको छ । टाँडे घरको भुइँ तलामा आफ्नै सीटी सफारी चार्ज गर्ने क्रममा बिहान ९ः३० बजेतिर करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।
उपचारका लागि दमक अस्पताल लगिएको थियो । थप उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्पताल पुर्याउनसाथ चिकित्सकले बुर्जामगरलाई बिहान ११ः२३ बजेतिर मतृ घोषणा गरेको जानकारी प्रहरीले दिएको छ ।
प्रहरीका अनुसार सफारी चार्ज गर्ने क्रममा विद्युत सर्ट भएर करेन्ट लागेको हुनसक्छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।























