विराटनगरको मुनालपथमा भीषण आगलागी, राजमार्गमा सवारीसाधन संचालनमा समस्या

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ९, बुधबार १५:३६

विराटनगर । कोशी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका–२ मुनालपथमा भीषण आगलागी भइरहेको छ ।

इलेक्ट्रिक साइकल र सीटी सफारी बिक्री गरिने पसलमा दिउँसो करिब २ बजेतिर आगलागी सुरु भएको हो । बिजुलीबाट चल्ने साइकल तथा सफारी बिक्री गरिँदै आएको भब्या इन्टरनेशनलमा आगलागी भएको प्रहरीले जनाएको छ ।

भब्या इन्टरनेशनलसँगै बजाजको सो–रुम पनि छ । आगोले इलेक्ट्रिक पसल पूर्णरूपले जलेको छ । सो–रुममा पनि क्षति पुगेको छ ।

पूर्वतिरबाट हावा चलेका कारण आगो नियन्त्रणका कठिनाइ भइरहेको छ । दमकलको सहयोगमा प्रहरी र स्थानीयले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् । तर, नियन्त्रणमा आउन सकिरहेको छैन ।

आगो नियन्त्रणमा आइनसकेका कारण क्षतिको यकिन विवरण प्राप्त भइसकेको छैन । आगोले बिजुलीको पोलमा टाँगिएका केवल, इन्टरनेटलगायतका तारहरु पनि जलेको छ । ब्याट्री पड्किएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।

आगलागी सुरु भएको करिब १ घण्टासम्म पनि दमकल नआइपुगेको भन्दै स्थानीय आक्रोसित बनेका छन् । विराटनगर महानगरपालिकाको दमकललाई घटनास्थल पुग्न नै करिब १ घण्टा लागेको स्थानीय बताउँछन् ।

यद्यपि, विभिन्न ठाउँबाट आएका दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ । आगालागीको कारण यकिन भइनसकेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

यसैबीच, राजमार्गसँगै जोडिएको पसलमा आगलागी भएपछि सवारीसाधन संचालनमा समस्या भइरहेको छ । राजमार्गको पूवतर्फ रहेको पसलमा आगो लागेको हो ।

जसका कारण पूर्वतर्फको लेनमा सवारीसाधन संचालन हुन सकिरहेको छैन । घटनास्थलमा खटिएका ट्राफिक प्रहरीले ‘डाइभर्ट’ गरेर पश्चिमतर्फको लेनबाट सवारीसाधन संचालनमा सहजीकरण गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.