
विराटनगर । असोज २ गतेबाट प्रारम्भ भएको सोह्रश्राद्ध आज (बुधबार) सकिँदै छ । असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन आज औँसी श्राद्ध अर्थात पितृपक्षको विधिवत समापन गरिँदै छ ।
दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरेर पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको १ दिन गरी सोह्र तिथिका दिनसम्म सोह्रश्राद्ध मान्ने चलन छ । कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मायता छ । आज पनि गर्न नसकेमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय मान्यता रहेको बताइन्छ ।
पितृपक्षका बेला जलाशयमा तर्पण दिने प्रचलन छ । दसैं, तिहार, छठलगायतका चाडपर्वअघि पितृहरुलाई तृप्त पार्न तर्पण र पिण्डदान गरेर श्राद्ध गर्ने परम्परा छ । पितृपक्षमा श्राद्ध गर्न नसक्नेले कात्तिक कृष्ण औँसीमा श्राद्ध गर्नसक्ने ग्रन्थमा उल्लेख छ ।
सोह्रश्राद्धमा श्राद्ध गर्नाले पितृ ऋणबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । पितृपक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने मान्यता पनि छ । पितृपक्षको समाप्तिसँगै भोलि (बिहीबार)देखि दुर्गापक्ष अर्थात् बडादसैं सुरु हुन्छ ।























