
काठमाडौं । नेपाली हिन्दुहरुको महान पर्व बडादसैंको दोस्रो दिन आज (शुक्रबार) परेको छ । घटस्थापनाबाट दसैं सुरु हुन्छ । बिहीबार घरघर र विभिन्न मठमन्दिरमा जमरा राखेर एवं शैलपुत्रीको पूजा गरेर दसैंको सुरुवात गरियो ।
दसैंको दोस्रो दिन आज ब्रह्मचारिणी भगवतीको पूजा गरिँदै छ । ब्रह्मचारिणी अर्थात् तपको आचरण गर्ने यी देवीको उपासनाले मनुष्यमा तप, त्याग, वैराग्य, सदाचार, संयमको वृद्धि हुन्छ भन्ने मान्यता छ ।
घटस्थापनाका दिनदेखि प्रत्येक दिन नवदुर्गाका ९ वटा रूपको पूजा गर्ने परम्परा छ । नवरात्रका ९ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।
दसैंको दोस्रो दिन मुलुकभरका नवदुर्गाका मन्दिर, शक्तिपीठहरु र दसैंघरमा ब्रह्मचारिणी भगवतीको पूजा गर्ने चलन छ । विभिन्न शक्तिपीठहरुमा बिहानैका रातिदेखि नै भक्तजनको घुइँचो लागेको छ ।
कुनै पनि प्रकारको बन्धनबाट मुक्ति पाउनका लागि ब्रह्मचारिणी माताको सख्खर चढाई पूजा आराधना तथा दान गरेमा हरेक प्रकारको अरिष्ट नाश हुने जनविश्वास छ । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिनदेखि पक्ष प्रारम्भ भएर शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिनसम्म मनाउने प्रमुख पर्व नै दसैं हो ।























