
चितवन । चितवनका सहकारी पीडितहरुले गरेको प्रदर्शनविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले ढुंगामुढा प्रहार गरेका छन् ।
रास्वपाका कार्यकर्ताको ढुंगामुढा प्रहारबाट ४ जना सहकारी पीडितहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
भरतपुरस्थित नारायणकला मन्दिरमा रास्वपाको प्रशिक्षण कार्यक्रम चलिरहेका बेला सहकारी पीडितले रास्वपाका सभापति रवि लामिछानेविरुद्ध प्रदर्शन गरेका थिए ।
लायन्स चोकबाट सुरु भएको सहकारी पीडितको प्रदर्शन नारायणकला मन्दिरअगाडि पुगेपछि मन्दिरभित्र रहेका रविका समर्थकले प्रदर्शनकारीविरुद्ध ढुंगा र पानीका बोतल प्रहार गरे ।
रविका समर्थकको ढुंगामुढाबाट ४ जना प्रदर्शनकारी घाइतेमध्ये १ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३ जना घाइतेलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।
सहकारी पीडित संघर्ष समितिका सदस्य शालिकराम दवाडीका अनुसार शान्तिपूर्ण प्रदर्शन गरेर रवीलाई ज्ञापनपत्र बुझाउने तयारी थियो । सो क्रममाभित्रबाट ढुंगा र पानीका बोतल प्रहार भयो ।























