बाढीबाट प्रभावितहरु । फाइल तस्बीरकाठमाडौं । नेपालमा बाढीपहिरोमा परी २ सय ४४ जनाको मृत्यु भइसकेको गृह मन्त्रालयले जनाएको छ ।
बाढीपहिरोमा परेर अझैसम्म १९ जना बेपत्ता र १ सय ७९ जना घाइते भएको जनाइएको छ ।
विभिन्न स्थानको बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १ सय ७४ जनाको उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएका छन् ।
उनका अनुसार अवरुद्ध सडकहरुको मर्मतसम्भार, एकतर्फी सडक खलाएर यातायात सञ्चालनको प्रयास भइरहेको छ ।
सरकारले स्थानीय सरकारसँगको समन्वयमा क्षतिको विवरण संकलन गर्ने र बाढीपहिरो प्रभावित परिवारलाई बस्ने र खाने व्यवस्था मिलाइएको बताइएको छ ।
जिल्ला विपद् व्यवस्थापन कोषमार्फत प्रति मृतकका परिवारलाई २ लाख रुपैयाँका दरले हालसम्म १ सय ६० परिवारले सहायता प्राप्त गरिसकेको गृह मन्त्रालयले जनाएको छ ।























