बाढीपहिरोले प्रदेशमा ४ अर्बको क्षति

Share this
683shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २०, आइतबार १६:२३

विराटनगर । कोशी प्रदेशमा बाढीपहिरोले ४ अर्ब ६३ करोड पचास लाख बराबरको भौतिक पूर्वाधारमा क्षति पुर्याएको छ ।

आइतबार विराटनगरमा भौतिक पूर्वाधार मन्त्रालयले पत्रकार सम्मेलन गर्दै बाढीपहिरोबाट प्रदेशको पूर्वाधारमा भएको क्षतिको विवरण सार्वजनिका गरेको हो ।

असोज ९ गते रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले ४ अर्ब ६३ करोड ५० लाख रुपैयाँ बराबरको भौतिक पूर्वाधारमा क्षति पुर्याएको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले जानकारी दिए ।

भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतका आंशिक क्षति पुगेका पूर्वाधार निर्माण गर्न १ अर्ब २ करोड ५० लाख रुपैयाँ बजेट लाग्ने बताउँदै, मन्त्री राईले भने, ‘पूर्ण क्षति भएका पूर्वाधार निर्माण गर्न ३ अर्ब ६१ करोड रुपैयाँ लाग्ने छ । आंशिक क्षति पुगेको पूर्वाधारलाई तत्कालै मर्मत गरी सञ्चालनको तयारी भइरहेको छ । प्रदेशमा ६० वटा सडक, १५ वटा सडक पुल, १७ वटा झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको छ ।’

उदयपुर र खोटाङ जोड्ने पक्की पुलको वैकल्पिक व्यवस्था गरिएको छ । यस्तै, इलाममा भासिएर मर्मतमा समस्या भएको सडकको पनि वैकल्पिक सडकमार्फत आवत–जावतको व्यवस्था मिलाउने काम भइरहेको छ ।

चाडवाड मान्नका लागि प्रदेशका कुनै पनि जिल्लाका बासिन्दालाई आवत–जावतमा समस्या नहुने गरी व्यवस्थापनको काम थालीसकेको मन्त्री राईले बताए । उनले भौगोलिक अवस्थाले गर्दा केही स्थानमा भने जस्तो काम गर्न नसकेको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.